मकवानपुर, २५ पुस । नेपाली कथानक चलचित्र ‘काँडेतार’ को च्यारिटी शो हेटौँडामा हुने भएको छ । सामाना फिल्मस् प्रा.लिको आयोजनामा पुस २७ गते हेटौँडास्थित एनएस सिनेमाजमा दिउँसो चलचित्र काँडेतार प्रदर्शन हुने भएको हो ।

मंगलबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै चलचित्रका निर्देशक नवल खड्काले नेपाल र भारतको खुला सीमाका कारण झडपमा परी मृत्यु भएका परिवार तथा घाइतेहरुको लागि सहयोगार्थ च्यारिटी शो गर्न लागिएको बताए । ६० भन्दा बढी शो गरिसकेको र आगामी फागुन २७ गते चलचित्र देशभर प्रदर्शन हुने उनले बताए ।

नवल खड्का, गौरव पहारी, सुरविना कार्की, रेविका गुरुङ, मुलरीधर, प्रशान्त यादव, प्रेम सुब्बा लगायतको कलाकारहरुको अभिनय रहेको चलचित्रमा नवल खड्काको कथा तथा निर्देशन रहेको छ । कविराज गहतराजको नृत्य निर्देशन, श्री श्रेष्ठको द्धन्द, तारा थापा र बन्दे प्रसादको सम्पादन रहेको चलचित्रलाई सौरव लामाले खिचेका हुन् ।