तस्बिर– ईशान रुपाखेती

चन्द्र घलान
मकवानपुर, १ माघ । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर ८ कमानेमा जारी यु–६० केजी एट–ए साईड नकाउट फुटबल प्रतियोगिताको दोस्रो दिन ३ खेलहरु भएका छन् ।

आइतबार भएको खेलमा कालिकामाई, समाज कल्याण र देवनगर टिमले जीत हासिल गरेको स्थानीय ईशान रुपाखेतीले जानकारी दिनुभयो । आईतबार बिहान भएको पहिलो खेलमा कालिकामाई र लेभल अप मकवानपुरले निर्धारित समय गोलरहित बराबर खेलेपछि खेलको नतिजा पेनाल्टिबाट तय गरिएको थियो । पेनाल्टि शुटआउटमा कालिकामाईले लेभलअप मकवानपुरलाई ३–२ गोल अन्तरले पराजित गरेको हो ।

त्यस्तै आईतबार दिउँसो भएको दोस्रो खेलमा समाज कल्याणले सिमपानीलाई १–० गोल अन्तरले पराजित गरेको थियो । आईतबार दिउँसो नै भएको तेस्रो खेलमा विकास टोल र देवनगर एफसीले निर्धारित समयमा १–१ गोल गरेपछि खेल पेनाल्टि शुटआउटमा धकेलिएको थियो । पेनाल्टिमा देवनगरले ३–२ गोल अन्तरमा विकास टोललाई पराजित गरेको थियो ।

प्रतियोगिता अन्तर्गत सोमबार बिहान तितेपानी एफसीसँग फायरलाईन एफसी, दिउँसो १ बजे नागस्वती युवा क्लबसँग मर्निङ स्टार तथा तेस्रो खेलमा रामनगर युवा क्लबसँग मनकामना टोलले प्रतिस्पर्धा गर्नेछ ।