मकवानपुर, ४ माघ । मकवानपुरको हेटौंडामा माघ ७ गते हुने एक कार्यक्रममा पूर्व राजा ज्ञानेन्द्र शाह सहभागी हुने भएका छन् । धार्मिक क्षेत्रहरुको अवलोकन तथा पूजा आरधानाका लागि हेटौंडा आउन लागेका उनले शुभेच्छुकहरुसँग प्रत्यक्ष भेटघाट गरी सम्बोधन गर्ने कार्यक्रम रहेको बुधबार पत्रकार सम्मेलन गरि जानकारी गराइएको छ ।
रिपोर्टर्स क्लब मकवानपुरको समन्वयमा भएको पत्रकार सम्मेलनमा राजा ज्ञानेन्द्र आउने कार्यतालिकाबारे जानकारी गराइएको हो । पूर्व राजा ज्ञानेन्द्रलाई ७ गते दिउँसो १२ बजे हेटौंडा–१५ स्थित चुरियामाई मन्दिरमा स्वागत गरिने आयोजक मूल समारोह समितिका संयोजक तथा प्रतिनिधिसभा सदस्य दिपकबहादुर सिंहले जानकारी दिएका छन् ।
उनका अनुसार सोही दिन दिउँसो १२ः३० मा हेटौंडा–१३ पदमपोखरीस्थित ज्याङछुपलिङ पोताला गुम्बामा पुजाआराधना, २ः३० बजे हेटौंडा–१० स्थित भूटनदेवी मन्दिरमा पूजा आराधनासहित शुभेच्छुक भेटघाट र ४ः३० मा हेटौंडा रिसोर्टमा खेलप्रेमी, बुद्धिजिवी, व्यवसायीहरुलगायतसँग भेटघाट गरी सोहि दिन हेटौंडाबाट फर्किने कार्यतालिका रहेको छ ।
कार्यक्रममा पार्टिको नभई नेपालको राष्ट्रिय झण्डा बोकिने उनले बताए । राष्ट्रिय प्रजातन्त्र पार्टी मकवानपुरका प्रवक्ता आयुष डोटेलका अनुसार ७ गते हुने कार्यक्रमको लागि १ हजार १ सय ११ जनाको मुल समारोह समिति तथा १० वटा उपसमितिहरु गठन गरिएको छ ।










