चन्द्र घलान, मकवानपुर, ५ माघ । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १३ स्थित पदमपोखरी अस्पतालको सेवा आजदेखि शुरु भएको छ । आज बिहान हेटौँडा उपमहानगरपालिकाकी नगर प्रमुख मिनाकुमारी लामाले अस्पतालको उद्घाटन गर्नुभएपछि अस्पतालको सेवा शुरु भएको हो ।

अस्पतालको उद्घाटनमा हेटौँडा उपमहानगरपालिका वडा नम्बर १३ का वडाअध्यक्ष पेम्बा लामा, पूर्व वडाअध्यक्ष मनोज वाईबा, अन्य जनप्रतिनिधि, पदमपोखरीका स्थानीयहरु तथा संचारकर्मीहरुको सहभागिता रहेको थियो ।

त्यस्तै उद्घाटनकै अवसर पारेर आज निःशुल्क स्वास्थ्य शिविर पनि संचालन गरिएको छ । शिविरमा मनोसामाजिक सेवा, जनरल स्वास्थ्य परिक्षण, आँखा जाँच तथा मोतियाबिन्दुको निःशुल्क शल्यक्रिया, ओठ र गिजाको उपचार, ल्याब सेवा, सुगर जाँच तथा औँषधि वितरण सेवा समेत संचालन भएको छ ।

अस्पतालको उद्घाटनसँगै हेटौँडा उपमहानगरपालिका वडा नम्बर १३, १४ तथा १२ नम्बर वडा का स्थानीयहरुले समेत लाभ उठाउन सक्ने भएका छन् । पमपोखरी अस्पतालमा वडा नम्बर १२,१३ र १४ का पदमपोखरी, टुटेपानी, मयुरधाप, वनस्पति, हात्तिगौँडा, सिग्रेनी, बेलडाँडा, घरेडी डाँडा, रमन्टार, भोर्ले, आँपधापका साथै मनहरी गाउँपालिका वडा नम्बर १ र २ का स्थानीयहरु समेत उपचारका लागि आउने गरेका छन् ।











