जी. न्यौपाने, मकवानपुर, १० माघ । बागमती प्रदेशको राजधानी हेटौँडा नेपाल विद्युत प्राधिकरणको पोल, तार र ईन्टरनेट सेवा प्रदायकले यत्रतत्र बिछ्याएको अव्यवस्थित तारले कुरुप बन्दै गईरहेको छ । नेपाल विद्युत प्राधिकरण र ईन्टरनेट सेवा प्रदायक संस्थाहरुको गैरजिम्मेवारीपनाले गर्दा दिनप्रतिदिन हेटौँडा सहर कुरुप हुने मात्रै होईन सर्वसाधारणहरुले पनि सास्ती भोगिरहेका छन् ।
यस विषयमा जिम्मेवारी बोध कसैमा पनि भएको पाईँदैन । ईन्टरनेटवालाहरुलाई पैसा कमाउनमात्र ध्यान छ । सहरको कुरुपताप्रति उनीहरुको कुनै मतलब छैन । उनीहरुले केही समयमै मिलाउनसक्ने समस्यालाई पनि झारो टार्ने किसिमले गरिरहेका छन् ।
यसैगरी नेपाल विद्युत प्राधिकरण पनि यस कुरामा अछुतो छैन । यत्रतत्र तारको लठ्ठाहरु बिजुलीको पोलमा झुण्डिएका छन् । कतैकतै तारमा झार समेत उम्रिएको पाईएको छ । कतै पोल नपाएर बाँसको घोचोबाट, फलामको डण्डीबाट तार प्रयोग गरिरहेका पनि पाईन्छ ।
विद्युत प्राधिकरणका करारका कर्मचारीहरुभने पैसा उठाएर पोल बेच्ने गरेको गुनासो आउँदा पनि विद्युत प्राधिकरणका प्रमुखलाई यस विषयमा कुनै चासो भएको जस्तो देखिँदैन । यस्ता कुराहरु लिएर डेलिगेसन जाँदा ‘तपाईहरु पैसा नदिनुस्, पैसा दिँदा रसिद माग्नुस्’ भनेर आफु पन्छिन्छन्त तर ती कर्मचारीहरुलाई कारवाही गर्नतिर लाग्दैनन् ।
त्यतिमात्र होईन, कतै पोल पाईएको छैन कतै भने पोल तेर्स्याएर कुलोमा पुल समेत बनाएको पाईएको छ भने कतै २–२ वटा पोल ठडिएको देखिन्छ । कतै पोल पुरिएको पनि पाईएको छ । कतै पोल कुच्चिएको र बाँङ्गिएको अवस्थामा समेत देखिन्छन् । यसको जिम्मेवारी कसले लिने ? हेर्नुहोस् तस्बिरहरु–
बाटोको पोलभरि लठारिएका बिजुली तथा ईन्टरनेट, टेलिफोनका तारहरु-
कतै पोलै छैन, कतै २–२ वटा पोल, पुरिएका तथा पुल बनाउन प्रयोग गरिएका पोलहरु–