मकवानपुर । बागमती प्रदेश सरकारले चेपाङ समुदायको पहत्वपूर्ण पर्व न्वागी (छोनाम) को अवसरमा मकवानपुर, चितवन र धादिङमा भदौ २२ गते सार्वजनिक बिदा दिने भएको छ ।

प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले बागमतीमा चेपाङ समुदाय रहेका ती तीन जिल्लामा सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानूनमन्त्री गंगानारायण श्रेष्ठले जानकारी दिए।
यस्तै प्रदेश सरकारको मन्त्रिपरिषद्को बैठकले प्रदेश नीति तथा योजना आयोगको सदस्यमा बुढानीलकण्ठ ५ काठमाण्डौकी कृष्णकुमारी बस्नेतलाई नियुक्त गर्ने निर्णय गरेको छ ।

सरकारले प्रदेश विपद् व्यवस्थापन कोष परिचालन कार्यविधि, २०८० स्विकृत गर्ने निर्णय गरेको छ । उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालय, संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालय, कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको संगठन संरचना र दरबन्दी तेरिजसहितको संक्षिप्त संगठन तथा व्यवस्थापन सर्वेक्षण स्वीकृत गरेको छ ।

यसैगरी, ग्रामीण सडक सञ्जाल सुधार आयोजना सञ्चालनका लागि म्याचिङ्ग फण्डको सुनिश्चितता गरस् नेपाल सरकार, एशियाली बिकास बैंक र मन्त्रालयबीच आयोजना सम्झौता गर्न भौतिक पूर्वाधार विकास मन्त्रालयका प्रदेश सचिवलाई अख्तियारी दिने निर्णय गरेको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।