मकवानपुर, ११ माघ । हेटौँडा उपमहानगरपालिका वडा नम्बर ११ को कार्यालयमा चोरी भएको छ । वडा कार्यालयको कब्जा उप्काएर सिसी क्यामेराको मनिटर चोरी भएको वडा कार्यालयले जनाएको छ ।

वडा कार्यालयको ढोका नजिक रहेको सिसा फुटाई ग्रिल उप्काएर भित्र छिर्ने प्रयास गरेको र पछि ढोकाको कब्जा चुकुलसहित उप्काएर मनिटर चोरेको प्रहरीले जनाएको छ । चोरीबारे सबै कुरा नखुलेको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

चोरी भएको जानकारी पाउनसाथ हेटौँडा ११ अस्थायी प्रहरी कार्यालयबाट प्रहरीहरु पुगेका थिए । घटनाबारे अनुसन्धान गरी प्रदेश प्रहरी कार्यालयको अनुसन्धान शाखाबाट आएर विवरणहरु संकलन गरेर अनुसन्धान कार्य अगाडि बढाउनुका साथै जिल्ला प्रहरी कार्यालयबाट पनि अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

चोरी गर्ने व्यक्तिले वडा कार्यालयस्थित सचिवको कार्यकक्षमा पुगी दराज खोलेको पाइएको छ । तर दराजबाट कुनै कागजात नहराएको पाइएको छ । त्यस्तै अध्यक्षको कार्यकक्षमा रहेको सिसीक्यामेरा मनिटर निकालेर लगेको पाइएको छ । कार्यालयबाट अन्य सामग्री वा कागजात चोरी भए नभएको विषयमा अनुसन्धान भइरहेको वडा सचिव जीवन ढुङ्गेलले बताउनुभयो ।