जी. न्यौपाने, मकवानपुर, २० माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सरकारले हेटौँडा कपडा उद्योग सेनाद्वारा ल्याउने समाचार बाहिरिएपछि बागमती प्रदेश सरकारको यस विषयमा ध्यानाकर्षण भएको छ । हेटौँडा कपडा उद्योग संचालनमा ल्याउन त्यति सजिलो नभएको बागमती प्रदेशका प्रदेश प्रमुख यादव चन्द्र शर्मा र मुख्यमन्त्री शालिकराम जम्कट्टेलको धारणा रहेको छ । बागमती प्रदेश सभाको छैँठौँ वार्षिक उत्सवको अवसरमा उहाँहरुले बोल्ने क्रममा यस्तो धारणा राख्नुभएको हो ।

प्रदेश प्रमुख शर्माले कुनै पनि काम गर्दा हतार गर्न नहुने भन्दै मुख्यमन्त्रीको भनाईलाई समर्थन गरे । कपडा उद्योग संचालन गर्न कपास खेती जरुरी रहेको उहाँहरुको भनाई रहेको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री जम्कट्टेले भने–‘कपडा उद्योगलाई धागो प्रशस्त चाहिन्छ, त्यसको लागि कपास खेति पर्याप्त मात्रामा गर्नुपर्छ, त्यसबाट किसाहरुले रोजगार पाई लाभान्वित हुन्छन् ।’

उहाँले बिना पुर्वाधार र बिना संरचना कपडा उद्योग चलाउन नसकिने धारणा व्यक्त गर्नुभयो । कपडा उद्योग संचालनमा ल्याउने कुरा चर्चामा आईरहने बताउँदै मुख्यमन्त्री जम्कट्टेले अमुक मानिसहरुले चर्चा कमाउन मात्र त्यस्तो चर्चा गर्ने गरेको धारणा राख्नुभयो । मुख्यमन्त्री जम्कट्टेलले कपडा उद्योग संचालन गर्न त्यत्ति सजिलो नभएको धारणा आफु सहभागी भएका विभिन्न कार्यक्रममा राख्दै आउनुभएको छ ।











जी. न्यौपाने 