चन्द्र घलान, मकवानपुर, २० माघ । मकवानपुरको मकवानपुरगढी गाउँपालिका वडा नम्बर २ शिखरकटेरीमा १ दिने आँखा शिविर सम्पन्न भएको छ । शिखरकटेरीस्थित मकवानपुरगढी स्वास्थ्य चौकीमा शनिबार आँखा शिविर भएको हो ।

मकवानपुरगढी गाउँपालिका वडा नम्बर २ का वडाअध्यक्ष बखान सिंह पाख्रिनका अनुसार शिविरमा १ सय ६१ जनाको आँखा जाँच भएकोमा २५ जनामा मोतिबिन्दु रोग देखिएको छ । ती २५ जनाको यही माघ २४ गते बुधबार निःशुल्क रुपमा आँखाको अपरेशन गरिने वडाअध्यक्ष पाख्रिनले बताउनुभयो ।

हेटौँडा सामुदायिक आँखा अस्पतालको प्राविधिक सहयोगमा आँखा शिविर भएको हो । यही माघ २२ गते सोमबार मकवानपुरगढी गाउँपालिका वडा नम्बर ८ बुढिचौरस्थित बुढिचौर स्वास्थ्य चौकीमा पनि आँखा शिविर हुनेछ । मकवानपुरगढी गाउँपालिकाले स्थानीय स्तरमा समन्वय गरेको आँखा शिविरलाई हिमालयन कन्ट्रयाक्ट प्रोजेक्ट र लाईन्स क्लब ईन्टरनेशनल नेपालले पनि सहयोग गरेको छ ।