जी. न्यौपाने, मकवानपुर, २१ माघ । नेकपा एकिकृत समाजवादी पार्टीकी केन्द्रिय सचिव तथा पूर्व सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले कार्यकर्ताहरु रोजगार हुन आवश्यक रहेको बताएकी छिन् । हेटौँडा १६ मा आयोजित वृहत वनभोज तथा प्रशिक्षण कार्यक्रममाा बोल्दै पूर्व मन्त्री झाँक्रीले कार्यकर्ताहरु स्वरोजगार भए र आर्थिक रुपमा सबल भएमा मात्र पार्टी बलियो हुने बताएकी हुन् ।

नेकपा एकिकृत समाजवादी पार्टी हेटौँडा उपमहानगरपालिका नगर कमिटिले आयोजना गरेको वनभोज तथा प्रशिक्षण कार्यक्रममा बोल्दै उनले पार्टीमा अहिल्यै पुस्तान्तरणको कुरा चलिरहेको भएता पनि राजनैतिक चेत, विचार, दर्शन र योगदानको आधारमा जिम्मेवारी बहन गर्नुपर्नेमा जोड दिईन् । पूर्व मन्त्री झाँक्रीले पुस्तान्तरण गर्दैमा ठूलो परिवर्तन भइनहाल्ने विचार व्यक्त गरिन् ।

यसैगरी कार्यक्रमका वक्ताहरु स्थायी कमिटि सदस्य वंशीधर मिश्र, मुनु सिग्देल, पोलिटब्युरो सदस्य धनप्रसाद गौतम, केन्द्रीय सदस्य राजाराम स्याङ्तान, गोमा तिमल्सिना, मिनाकुमारी लामा, केन्द्रिय परिषद सदस्य सिता श्रेष्ठ लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

नगर कमिटिका अध्यक्ष विष्णु लामाको सभाध्यक्षतामा भएको कार्यक्रममा पार्टीका स्थायी कमिटि सदस्य ललित बस्नेत, मकवानपुर जिल्ला अध्यक्ष विष्णु दाहाल, पार्टी सचिव ध्रुव भुजेल लगायतका कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।