मकवानपुर, २३ माघ । मकवानपुरको हेटौँडा–६ स्थित गौरिटार रंगशालामा जारी ‘छैटौँ स्थानीय तह सहिद स्मृति मकवानपुर गोल्ड कप अन्तर्गत आज सशस्त्र प्रहरीको एपिएफ क्लब र ललितपुरको थ्रीस्टार क्लबबिच प्रतिस्पर्धा हुने भएको छ ।
आयोजक मकवानपुर जिल्ला फुटबल संघका अनुसार खेल दिउँसो ठिक ३ बजे सुरु हुनेछ । प्रतियोगिता अन्तर्गतको यो अन्तिम क्वाटर फाईनल खेल हो । यसअघि नै न्युरोड टिम (एनआरटी), बागमती युथ क्लब सर्लाही र धनकुटाको राजारानी क्लब सेमिफाईनलमा प्रवेश गरिसकेका छन् ।
एनआरटीले चर्च ब्वाईज युनाईटेडलाई हराउँदै सेमिफाईनलमा प्रवेश गरेको हो भने बागमती युथ क्लब सर्लाहीले रिगल हेटौँडा रिसोर्ट एन्फा मकवानपुरलाई पराजित गर्दै सेमिफाईनलमा प्रवेश गरेको हो । त्यस्तै सोमबार भएको खेलमा त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै राजारानी क्लब सेमिफाईनलमा प्रवेश गरेको हो ।
बुधबार सेमिफाईनल चरणको पहिलो खेल हुनेछ । बुधबार हुने पहिलो सेमिफाईनल खेलमा राजारानीले न्युरोड टिम (एनआरटी) सँग प्रतिस्पर्धा गर्नेछ ।
प्रतियोगिताको उपाधि विजेता टिमले १५ लाख रुपैयाँ र उपविजेता टिमले १० लाख रुपैयाँ सहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीका लागि हेटौँडा–४ का व्यवसायी सन्तोष गौतमले ३ सय ५० सीसीको रोयल इन्फिल्ड बाइक प्रायोजन गरेका छन् । १२ वटा टिमहरुको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल यही माघ २७ गते हुनेछ ।










