मकवानपुर, २४ माघ । यही माघ २५ गतेदेखि २७ गतेसम्म काठमाडौँमा संचालन हुने बागमती प्रदेश स्तरीय मेयर कप जुनियर तेक्वान्दो प्रतियोगिताका खेलाडीहरुलाई मंगलबार हेटौँडा उपमहानगरपालिकाले जीतको शुभकामना सहित बिदाई गरेको छ ।

हेटौँडा उपमहानगरपालिकाको प्रतिनिधित्व गर्दै सहभागी हुने खेलाडीहरुलाई हेटौँडा उपमहानगरपालिकाकी मेयर मीनाकुमारी लामा, उपमेयर राजेश बानियाँ, प्रमुख प्रशासकीय अधिकृत शिवराज चौँलागाईँ, नगर खेलकुद विकास समितिका अध्यक्ष रविन्द्र घिमिरेसहितको टोलीले जीतको शुभकामना सहित बिदाई गरेको हो ।

प्रतियोगितामा ग्योरोगी र पुम्सेमा गरी जम्मा २० स्पर्धामा प्रतिस्पर्धा हुनेछ । ग्योरोगीको पुरुष–महिलामा समान ८–८ गरी १६ स्पर्धामा भीडन्त हुने छ । दुई दिने प्रतियोगिताका खेलहरू त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा हुनेछ ।