मकवानपुर, २५ माघ । हेटौंडाका उदिम पन्तले लेखेका ‘प्रारम्भिक संस्कृत व्याकरण’ पुस्तक विमोचन गरिएको छ । बुधबार हेटौंडामा एक कार्यक्रममा उक्त पुस्तकको विमोचन गरिएको हो । किताबघर वितरक रहेको उक्त व्याकरण किताब प्रारम्भिक चरणका विद्यार्थीदेखि माध्यमिक तहमा अध्ययन गर्ने जो–कोहीलाई उपयोगी हुने लेखकको दावी रहेको छ ।

पुस्तकको विमोचन गर्दै अग्निहोत्री डा. सीताराम खनालले वेदको मुख भनेकै व्याकरण भएको बताए । वेदको प्रमुख अंगको रुपमा रहेको संस्कृत व्याकरणलाई सबैले बुझ्ने भाषामा प्रकाशित गरिएको भन्दै उनले कृतज्ञताका साथ बधाई ज्ञापन गरे ।

कार्यक्रम सर्जक सञ्जाल मकवानपुरका संयोजक निमेष निखिलको अध्यक्षतामा भएको हो । कार्यक्रममा संस्कृत अध्येता साहित्यकार हयग्रीव आचार्यले पुस्तकमाथि आफ्ना धारणा राखेका थिए ।