मकवानपुर, २९ माघ । मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर २ भुन्द्रुङ टाँडीमा यही फागुन ४ र ५ गते सोनाम ल्होछार विशेष पुजापाठ तथा बृहत साँस्कृतिक कार्यक्रम आयोजना हुने भएको छ । २८६० औँ सोनाम ल्होछारको अवसरमा मनहरी एकता तामाङ समाजले कार्यक्रमको आयोजना गरेको हो ।

कार्यक्रम अन्तर्गत फागुन ४ गते खेन्पो सर्वजित गोङ्बाद्वारा पुजापाठ तथा प्रवचन हुने र फागुन ५ गते बृहत साँस्कृतिक कार्यक्रम आयोजना गरिने संस्थाका सचिव एवम् पत्रकार सन्देश थिङले जानकारी दिनुभयो ।

कार्यक्रममा चर्चित कलाकार बुद्धि तामाङ (हैट), चर्चित गायिका निर्मला घिसिङ, गायक अबिराम मोक्तान, ईमान लामाका साथमा राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुतिसँगै नृत्य प्रतियोगिता समेत हुने बताइएको छ ।

मनहरी २ भुन्द्रङ टाँडीमा अवस्थित रत्नलिङ्ग गुम्बाको प्राङ्गणमा बिहान ठिक ११ बजेदेखि हुने कार्यक्रम मनहरी गाउँपालिका वडा नम्बर २ को कार्यालय र मनहरी गाउँपालिकाले सहयोगमा हुन लागेको हो ।