जी. न्यौपाने, मकवानपुर, २९ माघ । राष्ट्र, राष्ट्रियता, धर्म, सँस्कृति तथा नागरिक बचाउ महाअभियान नेपालको १ वर्ष पुगेको अवसरमा मंगलबार दिप प्रज्वलनसँगै विशेष कार्यक्रम गरिने भएको छ । महाअभियान यातायात विभाग अन्तरगत यातायात व्यवसायी चालक मजदुर संगठनले आज हेटौँडामा पत्रकार सम्मेलनको आयोजना गर्दै कार्यक्रम बारे जानकारी दिएको हो ।

महाअभियानको यही फागुन १ गते १ वर्ष पुगेको अवसरमा काठमाडौँमा हुने दिप प्रज्वलनसँगै हुने विशेष कार्यक्रमका लागि मकवानपुर जिल्लाबाट १७ हजार मानिसहरु काठमाडौँमा जाने महाअभियान केन्द्रिय यातायात संगठन विभाग प्रमुख निस्धोज खड्काले पत्रकार सम्मेलनमा दाबी गरेका छन् ।

नेपालले भारतसँग गरेको बिप्पा सम्झौता, नाकाबन्दीका साथै कोरोनाले थलिएको सवारी धनी र यातायात मजदुरलाई वित्तिय संस्थाहरुले अव्यावहारिक रुपमा धेरै ब्याज लिएर यातायात पेशामा समस्या सृजना गरेको खड्काले आरोप लगाए । मजदुर र व्यवसायीको हकहितको लागि पनि काठमाडौँमा प्रदर्शन हुने खड्काले बताए । उनका अनुसार अभियानको १ वर्ष पुगेको वार्षिक कार्यक्रममा पूर्व राजा ज्ञानेन्द्र शाहले दिप प्रज्वलन गर्ने कार्यक्रम रहेको छ ।

दिप प्रज्वलनका लागि पूर्व राजा शाहको विकल्पका रुपमा अभियानका केन्द्रिय संयोजक दुर्गा प्रसाईँ वा अन्य विशिष्ट व्यक्तित्वलाई दिप प्रज्वलनका लागि तयार गरिने उनले बताए । कार्यक्रम काठमाडौँको माईतीघर मण्डलामा गरिने कार्यक्रम तय भएतापनि त्यहाँ अनुमति नपाइएकोले भृकुटी मण्डपमा गरिने जनाइएको छ ।