जी. न्यौपाने, मकवानपुर, ६ फागुन । पाँचौँ हेटौँडा राष्ट्रिय जर्नालिजम अवार्ड २०८० को सर्वोत्कृष्ट अवार्ड कान्तिपुर दैनिक पत्रिकाका दोहा कतार प्रमुख होम कार्कीलाई प्रदान गरिएको छ ।

हेटौँडामा जन्मिएर हेटौँडाबाटै पत्रकारिता शुरु गरी हाल कान्तिपुर विदेश प्रमुखका रुपमा कार्यरत उनले इज्राएल र हमासबिचको युद्ध चलिरहेको अवस्थामा युद्ध चलिरहेको देशमा गएर साहसिक पत्रकारिता गरेकोले यो अवार्डबाट उनलाई सम्मान गरिएको हो । कार्कीलाई १५ हजार रुपैयाँ नगद सहित दोसल्ला ओढाएर सम्मान पत्र र अवार्ड प्रदान गरिएको थियो ।

त्यसैगरी हेटौँडामा लामो समयदेखि कलम चलाउँदै आएकी सञ्चारिका समूह बागमती प्रदेशकी अध्यक्ष समेत रहेकी सरिता दाहाललाई उत्कृष्ट महिला पत्रकारिता अवार्डबाट सम्मानित गरिएको छ । यसैगरी उत्कृष्ट वर्ष पत्रकारिता अवार्ड रातोपाटिका गणेश दुलालले प्राप्त गरेका छन् । दाहाल र दुलाललाई जनही रु. १० सहित अवार्ड प्रदान गरिएको हो ।

यसैगरी विधागतमा उदियमान वर्ष अवार्ड २०८० रविन्द्र वाईबा, टेलिभिजन पत्रकारिता वर्ष अवार्ड मनिल महतो, अनलाई पत्रकार वर्ष अवार्ड अनिल पराजुली, चलचित्र पत्रकार वर्ष पत्रकार अवार्ड राजेश थापा (गरिब), ग्रामिण पत्रकार वर्ष अवार्ड सुनिता विष्ट, खेलकुद पत्रकार वर्ष अवार्ड विक्रम बानियाँ र खोज पत्रकारिता वर्ष अवार्ड नविन तिमल्सिनालाई प्रदान गरिएको थियो । पुरस्कृतहरुलाई जनही रु. ५ हजारसहित अवार्ड प्रदान गरिएको हो ।

यसैगरी अग्रज पत्रकार सम्मान राससका अग्रज पत्रकार कृष्णराम परियार, ईमेज च्यानल सुवर्णलाल श्रेष्ठ, नेपाल पत्रकार महासंघका मकवानपुर जिल्ला निवर्तमान अध्यक्ष तथा उज्यालो नेटवर्क र जनपत्र डटकमका पत्रकार हरि हुमागाईँर्ला प्रदान गरिएको थियो ।

यसैगरी सञ्चार उद्यमी सम्मानबाट सामुदायिक रेडियो पालुङका ध्रुवराज ढकाल, हेटौँडा सन्देश दैनिकका माधव न्यौपाने, हेटौँडा एफएम तथा नेशनल गोल्ड टेलिभिजनका उज्जवल चौँलागाईलाई सम्मान गरिएको थियो ।

पावर इन्टरनेशल मिडिया नेपाल (पिम नेपाल) र न्यू मिडिया प्रा.लि.को संयुक्त आयोजनामा जर्नालिजम अवार्ड कार्यक्रम भएको हो । पिम नेपलका अध्यक्ष माधवराज पोख्रेलको सभाध्यक्षतामा भएको कार्यक्रममा हेटौँडा उपमहानगरपालिकाकी मेयर मीनाकुमारी लामाको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य सुनिल खड्का, बागमती प्रदेश उपाध्यक्ष रुपेश दुलाल, महासचिव कृष्ण सारु मगर लगायतको आतिथ्यता रहेको थियो ।