मकवानपुर, १० फागुन । मकवानपुरको बागमती गाउँपालिकामा जारी छैठौं संकरणको बागमती गोल्डकप फुटबल प्रतियोगिताको फाइनल खेल बिहिबार हुँदैछ । प्रतियोगिताको फाइनलमा प्रवेश गरेका मछिन्द्र फुटबल क्बल र विभागीय टोली सशस्त्र प्रहरी बलको एपीएफले आज उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।

यसैबिच बुधबार भएको प्रि म्याच कन्फेन्समा बोल्दै दुबै टोलीले फाईनल जित्ने दाबी गरेका छन् । मछिन्द्रका प्रशिक्षक सन्तोष न्यौपानेले प्रतियोगिताको उपाधी जित्नका लागि राम्रो तयारी गरेको बताउनुभयो । खेलाडीहरु शारिरिक रुप ठिक भएकाले राम्रो अट्याकिङ गरेर निर्धारित ९० मिनेटभित्र गोल गर्ने गरी उपाधी जित्ने तयारी गरेको उहाँको दाबी छ । फाइनलमा राष्ट्रिय खेलाडी मनिष डांगी खेल्ने चान्स एकदम कम रहेको उहाँले बताउनुभयो । यसअघिका खेलमा पनि डांगी खेलेका थिएनन् ।

यस्तै एपीएफका म्यानेजर सुशील अधिकारीले आफु उपाधी जित्नेमा विश्वस्त र आशावादी भएको बताउनुभयो । सबै टिमले जित्नका लागि नै प्रतियोगिता खेल्ने बताउनुहुँदै उहाँले आफुहरु पनि जित्नका आएको बताउनुभयो । केही हप्ताअघि मात्र सम्पन्न मकवानपुर गोल्डकप जितेकोले यो कप पनि जित्नेमा पनि आफु विश्वस्त रहेको उहाँको भनाई छ ।

यस्तै मछिन्द्रका कप्तान उत्वसव राईले यो पटक राम्रो अट्याकिङ गरी खेलेर उपाधी जित्ने लक्ष्य रहेको बताउनुभयो । यो पटक विभिन्न तीन वटा मोफसल गोल्डकपमा हार ब्यहोरेको दुःख सम्झँदै उहाँले यो पटक भने उपाधी जित्ने गरी खेल्ने बताउनुभयो । यस्तै एपीएफका कप्तान मानबहादुर मगरले गोल्डकप जित्ने गरी खेल्ने बताउनुभयो । मकवानपुर गोल्डकप जितेर आत्मबल बढेकाले बागमती गोल्डकप जित्ने उहाँले दाबी गर्नुभयो । दुवै टोली पहिलो पटक बागमती गोल्डकपको फाइनलमा प्रवेश गरेको हो ।

यस्तै बागमती खेलकुद विकास समितिका सल्लाहकार एवम पुर्व खेलकुद विकास समितिका अध्यक्ष अरुण बलले सहरकेन्द्रित मात्रै फुटबल प्रतियोगिता भइरहेको अवस्थामा गाउँ–गाउँबाट नै खेलाडी उत्पादन गर्नुपर्छ भन्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्दै आइरहेको बताउनुभयो । उहाँले खेलाडी उत्पादनका लागि फुटबल प्रतियोगिता गराइराख्नुपर्ने बताउनुभयो । उहाँले फाइनल प्रवेश गरेको दुवै टिमलाई शुभकामना दिनुभयो ।

बागमती खेलकुद विकास समितीका उपाध्यक्ष मुक्ति लामाको सभाध्यक्षतामा भएको पत्रकार सम्मेलनमा बागमती–४ का वडाध्यक्ष दन्तलाल माझी र मकवानपुर जिल्ला फुटबल संघका सदस्य आषिश थापा लगायतको उपस्थिति रहेको थियो ।

प्रतियोगिताको विजेता टिमले १० लाख रुपैयाँ र उपविजेता टिमले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन् । यस्तै सर्वोत्कृष्ट खेलाडीले १ लाख १ हजार रुपैयाँ र अन्य विधागत उत्कृष्टहरुले २५–२५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।