मकवानपुर, ११ फागुन । बागमती प्रदेशमा फागुन १३ देखि १९ गतेसम्म एकहप्ते दादुरा रुबेलाविरुद्ध खोप अभियान सञ्चालन हुने भएको छ । लक्षित उमेरका बालबालिकाहरुलाई दादुरा र रुबेला रोग विरुद्ध प्रतिरोधात्मक क्षमता अभिवृद्धि गरी ती रोगहरुबाट संक्रमण हुनसक्ने सम्भावनाहरुलाई न्युनीकरण गर्ने लक्ष्यका साथ खोप अभियान सुरु हुने भएको हो । खोप अभियानअन्तर्गत प्रदेशभर ८ लाख ४९ हजार तीन सय २५ बालबालिकालाई खोप लगाउने लक्ष्य राखिएको छ ।

बागमती प्रदेशको स्वास्थ्य निर्देशनालयले खोप अभियानबारे बिहीबार सञ्चारकर्मीहरुसँग प्रदेशस्तरीय अभिमुखीकरण कार्यक्रम गर्दै एक हप्ताको अवधिमा प्रदेशका करिब २ हजार ९ सय केन्द्रमार्फत खोप लगाइने बताएको हो । बागमती प्रदेशका चितवन, काठमाडौं, भक्तपुर र ललितपुर जिल्लामा ९ महिनादेखि १५ वर्षसम्मका बालबालिकालाई दादुरा रुबेलाको खोप लगाउने कार्यक्रम छ भने अन्य ९ वटा जिल्लामा ९ महिनादेखि ५ वर्षसम्मका बालबालिकालाई मात्रै दादुरा रुबेलाको खोप लगाइने स्वास्थ्य निर्देशनालयले जनाएको छ । ९ महिनादेखि १५ वर्षसम्मकालाई खोप लगाउने कार्यक्रम रहेको ४ वटा जिल्लामा विद्यालय र नियमित केन्द्रमा खोप सेवा दिइने र अन्य जिल्लामा नियमित खोप केन्द्र र थप गरिएका केन्द्रबाट खोप लगाउने निर्देशनालयले जनाएको छ ।

बागमती प्रदेशमा ९ प्रतिशत बालबालिका पूर्ण खोपबाट बञ्चित भएको सर्वेक्षणबाट देखिएको भन्दै अबको खोप अभियानमा दादुरा रुबेलाका अतिरिक्त नियमित खोप लगाउन छुटेका बालबालिकालाई पनि खोप लगाइने स्वास्थ्य निर्देशनालयले जनाएको छ । सन् २०२६ सम्म दादुरा रुबेला रोग निवारण गर्न नेपाल सरकारको प्रतिवद्धता रहेकोमा नियमित दादुरा रुबेला खोपको कभरेज ९५ प्रतिशतभन्दा कम भएको कारण खोप अभियान चलाउन लागिएको बताइएको छ । सरकारले २०७६/७७ मा चलाएको अभियानपछि गरिएको सर्वेक्षणबाट नेपालमा दादुरा रुबेला खोपको कभरेज ८४ प्रतिशत देखिएको थियो । बागमतीको कभरेज भने ७४ प्रतिशत मात्रै छ ।

नेपालभर गत आर्थिक वर्षमा एक हजार तीन सय ५० जनामा दादुरा रुबेला रोग देखिएको थियो । दादुरा रुबेला संक्रमित मध्ये ७४ प्रतिशत ९ महिनादेखि १५ वर्ष उमेर समूहको रहेको बताइएको छ । स्वास्थ्य सर्वेक्षण २०२२ को तथ्यांकअनुसार नेपालमा राष्ट्रिय खोप तालिकाअनुसार पूर्ण खोप लगाएका बालबालिका ५२ प्रतिशत मात्र छन् । बागमती प्रदेशमा पूर्ण खोप लगाएका बालबालिका ८३ प्रतिशत रहेको तथ्यांकमा उल्लेख छ ।

दादुरा रुबेला खोप लगाउन छुटेमा अन्धोपन हुने, पखाला लाग्ने, कान पाक्ने, न्युमोनियमा हुने, इन्सेफ्लाइटिक्स रोग लाग्ने, कम्पन हुने र बालबालिकाको मृत्यु नै हुनसक्ने भएकाले नियमित खोप लगाउनुका साथै छुटेका ५ वर्षमुनिका बालबालिकाले पनि अनिवार्य खोप लगाउनुपर्ने स्वास्थ्य निर्देशनालयको भनाइ छ ।