मकवानपुर, १२ फागुन । नवरत्न व्यवसायी संघ नेपालको नवौँ वार्षिक साधारणसभा काठमाडौँमा सम्पन्न भएको छ । काठमाडौँको चन्द्रागिरी नगरपालिका कालु पाण्डे डाँडामा भएको कार्यक्रममा संघका केन्द्रिय अध्यक्ष रंगराज रोकायाको सभाध्यक्षता तथा संघका संस्थापक अध्यक्ष नन्दलाल कोइरालाको प्रमुख आतिथ्यता रहेको थियो ।

संस्थाका पूर्वअध्यक्ष चित्रबहादुर हमालले नेपाल सरकारसँग रत्न तथा खानीको उत्खनन् तथा प्रशोधनको लागि पहल गर्ने प्रतिवद्धत्ता व्यक्त गर्नुभयो । स्वदेशमा रहेका बहुमुल्य धातुको खोज तथा अनुसन्धान गरी स्वदेशी व्यवसायलाई अन्तराष्ट्रियकरण गरी निर्यात गर्नुपर्ने कुरामा नेपाल सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

पूर्व महासचिव कृष्ण प्रसाद न्यौपानेले वैदेशिक बहुमुल्य धातुको आयातमा नेपाल सरकारले आवश्यक कानुन नबनाएको हुँदा व्यवसायी व्यापारीहरुलाई भन्सारीकरणको लागि असुविधा भएको बताउनुभयो ।

कार्यक्रममा उपस्थित अन्य वक्ताहरुले पनि नेपाल सरकार तथा खानी भुगर्भ मार्फत स्वदेशी बहुमुल्य रत्न तथा धातुको उत्खनन् तथा प्रयोजनकोलागि स्वदेशी संघसंस्था तथा व्यापारीलाई प्राथमिकता दिनुपर्ने माग राखेको संघका केन्द्रिय सचिव गोकर्ण न्यौपानेले जानकारी दिए ।

कार्यक्रममा देशभरबाट २ सय रत्न व्यवसायीहरुको सहभागिता रहेको थियो ।