तस्बिर फाईल

जी. न्यौपाने, मकवानपुर, १२ फागुन । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर ६ का बासिन्दाहरु बाँदरको आतङ्कले चिन्तित छन् । पिडित महिलाहरुका अनुसार घरमा पाकेको सबे खानेकुरा बाँदरहरुले खाईदिन्छन् र धपाउन खोज्दा पिट्न, टोक्न झम्टिन्छन् ।

स्थानीय वृद्ध विष्णुनाथ सापकोटा पनि बाँदरको आतङ्कबाट आफु प्रभावित भएको बताउँछन् । उनी भन्छन्–‘बाँदर भान्छामा नाच्छन्, खेतबारीमा केही लगाएर खान दिँदैन, झ्यालढोका खुल्ला हुँदा बाँदरहरु घरभित्र छिरेर आतङ्क मच्चाउँछन् ।’’ पहिला पहिला पनि बाँदर आउने गरेको भएता पनि ति बाँदरहरु मानिसले धपाउँदा डराउँथे तर अहिलेका बाँदरहरु ठूलो हुनुका साथै हुल बाँधेर आउने भएकोले मानिसहरुले धपाउँदा समेत नडराउने गरेको सापकोटाले बताए ।

स्थानीय महेन्द्र श्रेष्ठको व्यथा पनि सापकोटाकै जस्तो छ । श्रेष्ठका अनुसार थोरै जग्गा भएका र बिघाका बिघा जग्गा भएकाहरु सबै बाँदरका कारण उस्तै पिडित छन् । जंगलसँग सिमाना जोडिएकोले उत्पादन ठप्पै भएको श्रेष्ठ बताउँछन् । ‘‘बाँदरलाई रोक्न र छेक्न सकिँदैन, हामीले स्थानीय सरकार, हेटौँडा उपमहानगरपालिकामा आफ्ना समस्याबारे जानकारी गराएका छौँ तर कतैबाट यसकुराको समाधानको बाटो नअपनाएकोले हामी समस्यामा छौँ’’–श्रेष्ठले दुःखेसो पोखे ।


हेटौँडा उपमहानगरपालिका वडा नम्बर ६ का वडाअध्यक्ष विष्णुप्रसाद दाहाल आफुहरु बाँदरको समस्याबारे जानकार रहेको बताउँछन् । उनले भने–‘‘बाँदरको बथानले धेरै समयदेखि खेतिबाली केही हुन दिएको छैन । अब हामीले रोकेर बाँदर आतङ्क रोकिने होईन ।’’ वडाअध्यक्ष दाहालका अनुसार स्थानीय सरकार र वनको कानुन बाझिएका कारण समाधानको बाटोतिर जान पनि मुस्किल भएको छ । बाँदरले दिनहुँ थोरैथोरै गरेर अन्न बालीको क्षति गर्ने भएकोले क्षतिको एकिन विवरण बुझाउन पनि मुस्किल भएको वडाअध्यक्ष दाहालले बताए ।

‘‘अब बाँदरले बिगार नगर्ने खेतिको विकल्प सोचिरहेका छौँ । जंगलमै बाँदरले खाने विभिन्न जातका फलफुलका बिरुवा रोपेर हुर्काउने योजना छ त्यसको लागि स्थानीयहरुसँग छलफल गरिरहेका छौँ’’–वडाअध्यक्ष दाहालले भने ।

अहिले बाँदर आतङ्क देशैभरिको समस्या हो । खासगरी जंगल नजिकैका बस्तिहरु बाँदर आतङ्कबाट पिडित छन् । पहिला पहिला जंगलमै बाँदरले खाने खानेकुराहरु पाईन्थ्यो तर अहिले जंगलमा बाँदरले खाने खानेकुराहरु पाउन छोडेका छन् त्यसैले बाँदरहरु खानेकुराको खोजीमा बस्तीमा छिर्ने गरेका छन् ।

बाँदर संरक्षण गर्नुपर्ने जनावर भएकोले यसलाई मार्न नपाईने डिभिजन वन कार्यालय मकवानपुरका वन अधिकृत वसन्तराज सापकोटाले बताए । बाँदरहरुलाई जंगलमै राख्न विभिन्न जातका फलफुलका बिरुवाहरु रोप्ने काम भईरहेको बताउँदै अधिकृत सापकोटाले मानविय र अन्नबालीको क्षतिको सही विवरण आएको खण्डमा डिभिजन वन कार्यालयले क्षतिपूर्ति भर्ने बताए । बाँदर, हात्ती, बाघ, चितुवा, मृगजस्ता १६ प्रजातिका जनावरहरुले पुराएको क्षतिका विषयमा वन कार्यालयले हेर्ने गरेको अधिकृत सापकोटाले बताए ।

हेटौँडा ६ नम्बर वडा सदस्य विजय पौडेलका अनुसार वडाका २३ वटा टोल विकास सँस्थामध्ये न्यूरेनीदेखि चुच्चेखोलासम्मका ७ वटा टोल विकास संस्थाका ३ सय घरधुरी बाँदर आतङ्कबाट पिडित छन् ।