जी. न्यौपाने, मकवानपुर, १४ फागुन । सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र हेटौँडा ११ थानाभर्याङले प्रदेश प्रहरी कार्यालय बागमती प्रदेशका प्रहरी नायब महानिरिक्षक विष्णुकुमार के.सी.लाई स्वागत गरेको छ ।

सामुदायिक प्रहरी सेवा केन्द्रको भवनमा स्वागत तथा अन्तरक्रिया कार्यक्रमको आयोजना गरी के.सी. लाई स्वागत गरिएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी नायव महानिरिक्षक के.सी.ले समाजमा शान्ति, सुरक्षा कायम गर्न सामुदायिक प्रहरी साझेदारी कार्यक्रम लागु गरी समुदायसँग प्रहरीले मिलेर काम गर्न थालेपछि सजिलो भएको बताउनुभयो । समाजको विकृति विसंगति हटाउन प्रहरी एक्लै नभएर समाज नै लागेमा सम्भव हुने बताउनुभयो ।

यस्तै कार्यक्रममा बोल्ने क्रममा हेटौँडा १० वडाअध्यक्ष फुर्वादोर्जे तामाङले समाजको कुरिति हटाउन प्रहरकिो भूमिका अग्रस्थानमा रहने बताउनुभयो । यसैगरी वडा नम्बर ११ की वडा अध्यक्ष जुना दाहालले समुदायको हितमा प्रदेश प्रहरी कार्यालय, स्थाई प्रहरी कार्यालय, सामुदायिक प्रहरी सेवाकेन्द्र, वडा समन्वय समिति, टोल विकास संस्था र स्थानीय सरकार सबै मिलेर लाग्नुपर्ने बताउनुभयो । मकवानपुर जिल्लालाई लागुऔँषध बिक्री केन्द्रको रुपमा चिनाइएकोले यस्ता उपनामबाट जिल्लालाई मुक्त गराउन सबैको भूमिका उत्तिकै रहेको उहाँले बताउनुभयो ।

सामुदायिक सेवा केन्द्रका अध्यक्ष देवकुमार श्रेष्ठको सभाध्यक्षतामा भएको कार्यक्रममा प्रहरी नायव महानिरिक्षक विष्णुकुमार के.सी.को प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा हेटौँडा ११ की वडाअध्यक्ष जुना दाहाल, हेटौँडा १० का वडाअध्यक्ष फुर्वादोर्जे तामाङ, वडा सदस्यहरु गोपिनी सापकोटा, गीता सुनार, सञ्जय बिडारी, सामुदायिक प्रहरी सेवा उपकेन्द्र हेटौँडा बसपार्कका अध्यक्ष प्रदिप कँडेल, टोल विकास संस्था वडा समन्वय समिति हेटौँडा ११ का अध्यक्ष यज्ञप्रसाद आचार्य, प्रहरी सेवा केन्द्र हेटौँडा ११ का पूर्व अध्यक्ष शालिकराम जम्कट्टेल लगायतको आतिथ्यता रहेको थियो ।