जी. न्यौपाने, मकवानपुर, २१ फागुन । हेटौँडा उपमहानगरपालिका वडा नम्बर ८ कमाने –बहादुगञ्ज) मा अवस्थित सामुदायिक विद्यालय श्री चन्द्रोदय माध्यमिक विद्यालय बालमैत्री विद्यालय घोषित हुने भएको छ ।

यही फागुन २२ गते मंगलबारका दिन विद्यालय बालमैत्री घोषणा हुने कार्यक्रम रहेको पत्रकार सम्मेलन गर्दै विद्यालयका प्रधानाध्यापक जिधराज ढकालले जानकारी दिए । विद्यालयकी बालसहभागी (छात्रा) सुप्रिया मुक्तानको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा हेटौँडा ८ का वडाअध्यक्ष राम थापाको विशेष आतिथ्यता रहेको थियो । विद्यालयले बालमैत्री हुन पूर्वरुपमा सूचक पालन गरेकोले बालमैत्री घोषणालाई समस्या नभएको हेटौँडा ८ की वडा सहजकर्ता रोजिता दंगालले बताईन् ।

जनप्रिय मावि पनि बालमैत्री घोषित हुने

हेटौँडा उपमहानगरपालिका वडा नम्बर १६ चिसापानीस्थित श्री जनप्रिय माध्यमिक विद्यालय पनि फागुन २२ गतेका दिन बालमैत्री विद्यालय घोषित हुने भएको छ । विद्यालयले विद्यालय भवनमा पत्रकार सम्मेलन गर्दै बालमैत्री विद्यालय घोषणा कार्यक्रमबारे जानकारी दिएको हो ।

विद्यालयले बाल सहभागिता, विद्यालय नर्स, बाल क्लब, बालमैत्री, अपाङ्गता भएका विद्यार्थीमैत्री, सफा पानीको व्यवस्था, व्यवस्थित विद्यालय, व्यवस्थित शौचालय, विद्यार्थीमैत्री वातावरण, फोहोर व्यवस्थापन लगायतका बालमैत्री हुन सूचकहरु पूरा गरेकोले विद्यालयलाई बालमैत्री विद्यालय घोषणा गरिने कार्यक्रमको आयोजनाको तयारी गरिरहेको विद्यालयका प्रधानाध्यापक भुपेन्द्र चौँलागाईँले जानकारी दिए ।

कार्यक्रममा हेटौँडा १६ का वडाअध्यक्ष रामकृष्ण कोईरालाको प्रमुख आतिथ्यतारहेको थियो ।