जी. न्यौपाने, मकवानपुर, २५ फागुन । मकवानपुरको हेटौँडामा दिवंगत अष्टकुमारी शाक्यको स्मृतिमा अन्तर क्याम्पस ‘अष्टकुमारी टी–२० क्रिकेट प्रतियोगिता हुने भएको छ । हेटौँडा जेसीजको आयोजनामा यही फागुन २६ गतेदेखि २९ गतेसम्म प्रतियोगिता हुन थालेको हो ।
बिहीबार हेटौँडमा पत्रकार सम्मेलन गरी प्रतियोगिताबारे जानकारी गराइएको थियो । हेटौंडा जेसीज वर्ष सन् १९९२ का अध्यक्ष पूर्ण शाक्यको दिवंगत आमा अष्टकुमारी शाक्यको स्मृतिमा प्रतियोगिताको आयोजना गरिएको हो ।
हेटौंडा जेसीज वर्ष सन् २०२४ का अध्यक्ष विकेशलाल श्रेष्ठका अनुसार प्रतियोगितामा मकवानपुरको हेटौंडा स्कूल अफ म्यानेजमेन्ट, हेटौंडा सिटी कलेज र नारायणी कलेज, बाराको सिमरा क्याम्पस, पर्साको नेशनल इन्फोेटेक र चितवनको एरोभा कलेजले सहभागिता जनाउने छ ।
प्रतियोगिताका विजेताले ५० हजार रुपैयाँसहित ट्रफि र मेडल प्राप्त गर्नेछन् भने उपविजेताले २५ हजार नगदसहित ट्रफि र मेडल प्राप्त गर्नेछन् । त्यस्तै प्रतियोगितामा उत्कृष्ट खेलाडीलाई १० हजार रुपैयाँ, उत्कृष्ट ब्याट्स म्यान र बलरलाई पनि पाँच–पाँच हजार रुपैयाँ पुरस्कार प्रदान गरिने अध्यक्ष श्रेष्ठले बताए ।
कार्यक्रम संयोजक सुमन अर्यालका अनुसार प्रतियोगिताको उद्घाटन खेल हेटौंडा ४ हुप्रचौरमा हेटौंडा स्कुल अफ म्यानेजमेन्ट र हेटौंडा सिटी कलेजबिच हुनेछ । प्रतियोगिता संचालनका लागि ४ लाख ५० हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।










जी. न्यौपाने 

