मकवानपुर, २७ फागुन । मकवानपुर प्रहरीले गए राति श्रोत नखुलेको रकमसहित ४ जनालाई हेटौँडाबाट पक्राउ गरेको छ । शनिबार राति ११ः५५ बजेको समयमा प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाका आधारमा हेटौँडा १५ रातोमाटे चेक प्वाईन्टबाट उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा भारतको विहार राज्य सितामढी थाना भुभैरवो वडा नम्बर ९ बस्ने ३० वर्षीय राकेश कुमार राय,सोही स्थान बस्ने ३० वर्षीय चान्द बाबु, सोही स्थान बस्ने ३७ वर्षीय अशोक राय र नेपालको सुनसरी कोशी गाउँपालिका वडा नम्बर ४ बस्ने ३२ वर्षीय निजाम मिँया रहेका छन् ।
प्रहरीले बिरगंजतर्फबाट हेटौडातर्फ आउँदै गरेको बि आर ०१ एआर २९९१ नम्बरको कारलाई रोकी चेकजाँच गर्ने क्रममा उक्त कारमा सवार उनीहरुलाई खानतलासी गर्दा लुकाईराखेको अवस्थामा भारतीय रुपैयाँ ५ लाख ४९ हजार (नेपाली रुपैयाँमा रुपान्तरण गर्दा ८ लाख ७८ हजार ४ सय) र नेपाली रुपैयाँ २ लाख ५० हजार गरी जम्मा नेपाली रुपैयाँ ११ लाख २८ हजार ४ सय रुपैयाँ सहित उनीहरुलाई नियन्त्रणमा लिएको जनाएको छ ।
अहिले उनीहरुलाई कार र पैसा सहित थप अनुसन्धानका लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा पठाइएको मकवानपुर प्रहरीले जनाएको छ ।










