मकवानपुर । हेटौंडा जेसीजको आयोजनामा यही भदौ १५ गते साइकल जात्रा २०८१ हुने भएको छ । मकवानपुर जिल्ला साइक्लिङ् संघको सहकार्यमा करिब २५० जना साइकल यात्रीको सहभागितामा साइकल जात्रा आयोजना गर्न लागिएको हेटौंडा जेसीज वर्ष २०२४ का अध्यक्ष विकेशलाल श्रेष्ठले जानकारी दिएका छन् ।
हेटौंडा–४ हुप्रचौरबाट सुरु हुने साइकल जात्राका सहभागीले हेटौंडाको विभिन्न ठाउँको कूल ३७।५ किलोमिटर यात्रा गर्ने जनाइएको छ । शनिबार विहान ६ बजे हुप्रचौरमा जम्मा भई यात्रा सुरु गर्छौँ । सहभागीमध्ये तोकिएको दूरी पार गर्नेलाई प्रमाणपत्र पनि प्रदान गर्छौँ ।’ श्रेष्ठले भने, ‘यस कार्यक्रममा मकवानपुरसहित बाहिरी जिल्लाका पनि सहभागी हुनेछन् ।’
कार्यक्रमको लागि करिब ३ लाख रुपैंया खर्च हुने अनुमान रहेको कार्यक्रम संयोजक कुसल रिजालले बताए । साइकल जात्राका सहभागीहरु कपुर कम्प्लेक्स हुँदै, चौकीटोल, सानोपोखरा चोक, चुच्चेखोला, हटिया, कमाने, हनुमान गेट, सिमेन्ट रोड, पदमपोखरीको पानतले, कुस्माण्ड सरोबर र सिमेन्टरोड हुँदै हेटौँडा जेसीजको सचिवालयमा आउनेछन् ।
सन् २०१७ बाट सुरु भएको साइकल जात्रा कार्यक्रम २०१८ मा पनि भएको थियो । बीचमा निरन्तरता पाउन नसकेको सो कार्यक्रम अहिले पुनः २०२४ मा हुन लागेको हो ।
जात्रामा सहभागी हुन चाहाने साइकल यात्रीले २०० रुपैयाँ दर्ता शुल्क बुझाएर हेटौंडा १० र हेटौंडा ४ मा रहेको राज साइकल स्टोर्समा भदौ १४ गते सुक्रबार साँझ ५ बजेसम्म नाम दर्ता गराउन सक्ने जनाइएको छ ।
आयोजकले साइकल यात्रीलाई विहानको खाजा तथा खाना र टिसर्ट उपलब्ध गराउने जनाएको छ । साइकलको प्रयोग वातावरणमैत्री एवम् स्वास्थ्यका लागि राम्रो हुने भन्दै यस प्रकारको कार्यक्रम आयोजना गर्दा आपसी सद्भाव र बन्धुत्वको भावनासमेत बढ्ने आयोजकको बुझाई छ ।