मकवानपुर । सिस्नेरी पहिरोमा परी ज्यान गुमाएका अखिल नेपाल फुटबल संघ (एन्फा) फुटबल एकेडेमीका ६ जना विद्यार्थीहरुको सम्झनामा दीप प्रज्वलन गरिएको छ । मनहरी–१ स्थित मोर्डन युथ क्लबले पहिरोमा ज्यान गुमाएका एन्फाका ६ जनाको सम्झनामा श्रद्धाञ्जली सभा साथै दीप प्रज्वलन गरेको हो ।
गत असोज १२ गते मकवानपुरका ३ सहित ६ जना विद्यार्थीहरुको पहिरोले पुरेर निधन भएको थियो । मकवानपुरका अनुपम घलान, सुमन योन्जन र दिवस बानियाँ, सर्लाहीका आदित्य वलम्पाकी, काठमाडौंका रियान्स आचार्य र बाराको निजगढका विकल रेग्मीको पहिरोमा परी ज्यान गएको हो ।
कार्यक्रममा मनहरी–१ का वडाध्यक्ष शवप्रसाद खनाल, क्लबका सचिव रामगोपाल पराजुली , रामकुमार उप्रेती, अन्य पदाधिकारी तथा स्थानीयहरुको सहभागिता रहेको थियो ।