मकवानपुर । अमेरिकाको टेक्सस राज्यको हर्स्ट स्थित श्रीकृष्ण प्रणामी हिन्दू समाजको १६ औं साधारणसभा तथा चौथो अधिवेशन सम्पन्न भएको छ। शनिबार सम्पन्न भएको साधारण सभाले मन्दिर सञ्चालक समितिको अध्यक्षमा दिपक ढकाललाई सर्वसम्मत चयन गरेको छ।

मन्दिरका अनुसार अधिवेशनले ढकालको नेतृत्वमा १३ सदस्यीय मन्दिर सञ्चालक समिति सर्वसम्मत गठन गर्न सफल भएको छ। गठित नयाँ समितिको उपाध्यक्षमा उषा हुमागाई, उपाध्यक्षमा मनोज अधिकारी, सचिवमा लालप्रसाद दंगाल (एलपिडी), सहसचिवमा सुवास दङ्गाल, कोषाध्यक्षमा प्रधुम्न सापकोटा
र सह-कोषाध्यक्षमा विशाल खत्री चयन भएका छन्। समितिको सदस्यहरुमा भने नवराज ढकाल, कन्हैया तिमल्सिना, रुपेश खतिवडा, डा. सुनिल खनाल, असीम तिमल्सिना र स्नेह आचार्य चयन भएका छन्।

यसैगरी, अधिवेशनले समाजको बोड अफ ट्रस्टीको अध्यक्षमा राजु हुमागाईलाई सर्वसम्मत चयन गरेको छ। बोर्ड अफ ट्रष्टीको उपाध्यक्षमा सुजन खतिवडा, सचिवमा रोजी पाण्डे र कोषाध्यक्षमा गोकुल हुमागाई सर्वसम्मत चयन भएका छन्।

विधानले व्यवस्था गरे अनुसार, सञ्चालक समिति र बोर्ड अफ ट्रष्टीमा रिक्त रहेका सदस्य पदहरु भने पछि मनोनीत गरेर पूरा गरिने संस्थाले जनाएको छ।

हिन्दू समाजका अध्यक्ष नुरनाथ सुवेदीको अध्यक्षता तथा मन्दिरका महन्त सन्त पौडेलको प्रमुख आतिथ्यतामा साधारण सभा भएको हो ।

सन् २००९ मा स्थापना गरिएको समाजले स्थापना कालदेखि नै आफ्नो कार्यक्षेत्र भित्र विविध धार्मिक तथा सामाजिक क्रियाकलापहरु गर्दै आइरहेको छ। एकसय बढी प्रणामी परिवार आबद्ध संस्थाले बृहत प्रणामी मन्दिर स्थापनाको अभियानलाई तिब्रता दिइरहेको जनाएको छ। समाजले टेक्ससको युलेस स्थित नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्रले स्थापना गरेको पशुपतिनाथ मन्दिर तथा बौद्ध विहार नजिकै नयाँ भवन सहित प्रणामी मन्दिर निर्माण गर्ने योजना समेत बनाएको छ ।