
मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर १४ लाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिने भएको छ । वडा कार्यालयले बुधवार पत्रकार सम्मेलनमार्फत् विभिन्न ५१ वटा सूचक पूरा गरेसँगै यही माघ २५ गते उक्त वडालाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गर्ने तयारी गरेको जानकारी दिएको हो ।
यस कार्यका लागि वडाध्यक्ष दिपक खड्काको संयोजकत्वमा मूल समारोह समिति गठन गरिएको र सो समितिले घोषणाका लागि आवश्यक सम्पूर्ण तयारी पूरा गरेको अध्यक्ष खड्काले जानकारी दिए । कार्यक्रम हेटौंडा उपमहानगरपालिकाकी मेयर मीनाकुमारी लामाको प्रमुख आतिथ्यतामा वडा नम्वर– १४ स्थित श्री भृकुटी मा.विमा कार्यक्रम गर्न लागिएको अध्यक्ष खड्काले बताए ।
उनका अनुसार, वडामा क्रियाशील बालमैत्री स्थानीय शासन वडा समिति तथा बाल अधिकार समितिले २० वटा टोल विकास संस्थामा २२ वटा बाल समूह , १ वटा बाल सञ्जालमार्फत विभिन्न संरचनागत समितिहरुमा समेत गरी ५७० जना बालबालिकाहरुको प्रत्यक्ष सहभागितामा वर्षभरी विभिन्न कार्यक्रम गरी घोषणाका लागि आवश्यक वातावरण निर्माण गरेका छन् ।