हेटौंडा। मकवानपुरको विकट कैलाश गाउँपालिकामा लागूऔषध तस्करीका लागि आएका एक समूहले प्रहरीको पेस्तोल लुटेर जंगलमा फ्याँकिदिएको घटना सार्वजनिक भएको छ। सोमबार दिउसो कैलाश गाउँपालिका वडा नं. ६ स्थित दुम्सीखर्चको जंगलमा लुटिएको ७ राउण्ड गोली लोड गरिएको टाइप–५४ पेस्तोल आज बिहान १० बजे बोल्नेलेकको जंगलमा भेटिएको मकवानपुरका प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले बताए।

ईलाका प्रहरी कार्यालय पालुङबाट खटिएका हवल्दार अर्जुन तामाङ र सहायक हवल्दार गोविन्द्र मंग्राती दुम्सीखर्कको जंगलमा जाँदा लागूऔषध तस्करको टोलीसँग झडप भएको थियो। यस झडपमा तस्करहरूले हवल्दार तामाङको पेस्तोल लुटेर फरार भएका थिए।

प्रहरीका अनुसार, २ केजी अफिम बोकेर मोटरसाइकलमा आएका दुई जना तस्करले १० जनाको थप समूहलाई बोलाएका थिए। उनीहरूले पेस्तोल लुटेर जंगलतर्फ भागेका थिए। तस्करहरूको पहिचान हालसम्म खुल्न सकेको छैन, र प्रहरीले घटनाको अनुसन्धान जारी राखेको जनाएको छ।