हेटौंडा । नेपाली कांग्रेस बागमती संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ बागमती प्रदेशका नयाँ मुख्यमन्त्री नियुक्त भएका छन्। प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले मंगलबार उनलाई नेपालको संविधानको धारा १६८ को उपधारा २ अनुसार मुख्यमन्त्री पदमा नियुक्त गरेका हुन्।
नियुक्तिपछि मुख्यमन्त्री बानियाँले पद तथा गोपनीयताको शपथ पनि ग्रहण गरेका छन्। उनले स्थायित्व र विकासमुखी सरकार सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
यसअघि सोमबार नेपाली कांग्रेसका ३७ र नेकपा एमालेका २७ सांसदहरूको समर्थन प्राप्त गर्दै बानियाँले सरकार गठनको दाबी पेश गरेका थिए। पूर्वमुख्यमन्त्री बहादुर सिंह लामाको राजीनापछि रिक्त बनेको पदमा दुई दावेदार मध्ये बानियाँले स्पष्ट बहुमत जुटाउँदै सफलता हासिल गरेका हुन्।
प्रदेश सरकारको नेतृत्वका लागि नेकपा एमाले संसदीय दलका नेता जगन्नाथ थपलियाले पनि दाबी पेश गरेका थिए। तर, आवश्यक समर्थन प्राप्त गर्न नसकेपछि बानियाँ नै मुख्यमन्त्रीमा नियुक्त भएका हुन्।












