
हेटौंडा । हेटौंडा-६ हात्तिलेटमा गरिवी निवारण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको नयाँ सहकारी भवन शुक्रबार एक कार्यक्रमबीच उद्घाटन गरिएको छ। भवनको उद्घाटन बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले गर्नुभएको हो।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री बानियाँले सहकारीको प्रभावकारी सञ्चालनमार्फत समुदायमा पुँजी परिचालन भई गरिबी निवारणमा महत्त्वपूर्ण योगदान पुगेको बताए। केही सहकारी संस्थाको गतिविधिले नकारात्मक धारणा सिर्जना गरे पनि समग्रमा सहकारीले आर्थिक र सामाजिक रूपान्तरणमा ठूलो भूमिका खेलेको उनको भनाइ थियो। उनले बागमती प्रदेश सरकार सहकारी क्षेत्रको प्रवर्द्धनका लागि सधैं सकारात्मक रहँदै आएको उल्लेख गरे।
संस्थाका अध्यक्ष कृष्णप्रसाद सापकोटाको सभाध्यक्षतामा आयोजित कार्यक्रममा २५औं साधारणसभा, स्थापना दिवस, रजत जयन्ती तथा स्मारिका विमोचन पनि सम्पन्न गरियो। मुख्यमन्त्री बानियाँले सो अवसरमा सहकारीले प्रकाशन गरेको स्मारिका विमोचन गरेका थिए।
कार्यक्रममा सहकारी भवन निर्माणमा सहयोग गर्ने हेटौंडा-६ वडा कार्यालय, संस्थापक अध्यक्ष शिवप्रसाद खनाल, प्रस्तावक अध्यक्ष रामकृष्ण तिवारी, पूर्व अध्यक्ष श्रीराम खतिवडा, निवर्तमान अध्यक्ष पुष्पराज पराजुलीसहित संस्थापक शेयर सदस्य, ज्येष्ठ सदस्य, असली ऋणी तथा बचतकर्ताहरुलाई सम्मान गरिएको थियो।
त्यसैगरी, हेटौंडा-६ का वडा अध्यक्ष विष्णुबहादुर दाहाल, संस्थापक अध्यक्ष खनाल, प्रस्तावक अध्यक्ष तिवारी, पूर्व अध्यक्ष खतिवडा, सहकारी अध्यक्ष सापकोटा, उपाध्यक्ष रिपुप्रसाद गौतम, कृष्णप्रसाद दुलाललगायतले मन्तव्य व्यक्त गरेका थिए।
कार्यक्रममा अध्यक्ष सापकोटाले २०८२/८३ सालको प्रस्तावित नीति तथा कार्यक्रम प्रस्तुत गरे भने, सचिव शरदकुमार श्रेष्ठले वार्षिक प्रगति प्रतिवेदन र लेखा सुपरिवेक्षण समितिका संयोजक शिवप्रसाद गौतमले लेखा प्रतिवेदन प्रस्तुत गरेका थिए।