मकवानपुर । हेटौंडा बजार क्षेत्रको सडक विस्तार अभियानका लागि आवश्यक सबै तयारी पूरा भएको जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ। सडक डिभिजन कार्यालय मकवानपुरले मंसिर ५ गते प्रकाशित सूचनाको आधारमा अघि बढाइएको अभियानमा स्थानीयवासी तथा सरोकारवालाको उत्साहजनक सहभागिता रहेको प्रशासनले जनाएको हो।
जिल्ला प्रशासनले आज जारी गरेको सूचनामा व्यवसायीहरूले स्वेच्छिक रूपमा आफ्नो पसल सार्ने, सेल–अफरमार्फत सामान बिक्री गर्ने तथा सडक विस्तार कार्यलाई सहज बनाउन गरिएको सहयोगप्रति धन्यवाद जनाएको छ।
तर केही व्यक्तिहरूबाट व्यवसायीहरूलाई धाकधम्की दिने, जबरजस्ती पसल बन्द गराउने, र सार्वजनिक विकास निर्माणको कानुनसम्मत काममा अवरोध पुर्याउने गतिविधि देखिएको जिल्ला प्रशासनको भनाइ छ। यस्ता कार्यप्रति प्रशासनले गम्भीर ध्यानाकर्षण भएको बताउँदै सो प्रकारका अवैध गतिविधिबाट टाढा रहन सबैलाई आग्रह गरेको छ।
प्रशासनले सूचनामा भनेको छ, “सडक डिभिजन कार्यालयको यस अभियानमा कानुन विपरीत कार्य नगर्न नगराउन पुनः अनुरोध गरिन्छ। यदी कसैले यस्ता गतिविधि गरे कडा कारबाही गरिनेछ।”
हेटौंडा बजार सडक विस्तारलाई लामो समयदेखि प्राथमिकतामा राख्दै आएको सरकारी निकायहरू अहिले तयारी अन्तिम चरणमा पुगेको बताइरहेका छन्। प्रशासनको आजको सूचनासँगै अभियानलाई अवरोधरहित रूपमा अगाडि बढाउने संकेत मिलेको छ।













