हेटौंडा । संघीय खानेपानी तथा ढल व्यवस्थापन कार्यालय र हेटौंडा खानेपानी व्यवस्थापन बोर्डको संयुक्त लगानीमा निर्माण गरिएको अत्याधुनिक पानी परीक्षण प्रयोगशाला सञ्चालनमा आएको छ ।

हेटौंडा खानेपानी व्यवस्थापन बोर्डको कार्यालय परिसरमा स्थापना गरिएको प्रयोगशालाको हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मीना कुमारी लामाले सोमबार एक कार्यक्रमबीच उद्घाटन गरिन् ।

उद्घाटन समारोहमा बोल्दै प्रमुख लामाले सुरक्षित र गुणस्तरीय खानेपानी नागरिकको आधारभूत अधिकार भएको उल्लेख गरिन् । उनले नयाँ तथा अत्याधुनिक प्रयोगशालाको सञ्चालनसँगै पानीको गुणस्तर परीक्षण प्रक्रिया वैज्ञानिक, विश्वसनीय र राष्ट्रिय मापदण्डअनुसार हुने विश्वास व्यक्त गरिन् । नगरवासीलाई स्वच्छ र सुरक्षित पानी उपलब्ध गराउन प्रयोगशालाले महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ थियो ।

हेटौंडा खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशकले प्रयोगशालाको प्राविधिक पक्षबारे जानकारी दिँदै प्रारम्भिक चरणमै राष्ट्रिय खानेपानी गुणस्तर मापदण्ड २०७९ तथा सोही मापदण्ड कार्यान्वयन तथा अनुगमन निर्देशिका २०७९ अनुसार तोकिएका २८ प्रकारका भौतिक, रासायनिक तथा सूक्ष्म जैविक परीक्षण गरिने बताए ।

उनका अनुसार बोर्डले यसअघि २०७५ सालदेखि सामान्य उपकरणमार्फत पानी परीक्षण गर्दै आएको थियो । अब आधुनिक उपकरणको प्रयोगले परीक्षण नतिजा अझ विश्वसनीय र मापदण्डअनुसार हुने उनले जानकारी दिए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ बाग्मती प्रदेशका अध्यक्ष कृष्ण सारु मगरले प्रयोगशालाको स्थापना नागरिक स्वास्थ्य सुरक्षाका दृष्टिले महत्वपूर्ण उपलब्धि भएको बताए ।

प्रयोगशाला स्थापना तथा उपकरण खरिदका लागि सुरुमा ३० लाख रुपैयाँ लागत अनुमान गरिएको थियो । बोलपत्र प्रक्रियामार्फत काठमाडौंस्थित जेएचएस एनालिटिक कम्पनीले २२ लाख रुपैयाँमा उपकरण आपूर्ति तथा जडान गरेको बोर्डले जनाएको छ ।

यसका अतिरिक्त प्रयोगशालाको पूर्वाधार निर्माण, फर्निचर फिटिङ, मार्बल जडान, विद्युत् कार्यलगायतमा १० लाख रुपैयाँ खर्च भएको छ भने आवश्यक केमिकल तथा रसायन खरिदमा २ लाख ५० हजार रुपैयाँ खर्च गरिएको छ । कुल ३४ लाख ५० हजार रुपैयाँको लागतमा प्रयोगशाला स्थापना गरिएको हो । यसमध्ये संघीय सरकारबाट ११ लाख रुपैयाँ र हेटौंडा खानेपानी व्यवस्थापन बोर्डबाट २३ लाख ५० हजार रुपैयाँ लगानी गरिएको बोर्डले जनाएको छ ।