हेटौँडा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मकवानपुर जिल्लामा प्रत्यक्षतर्फ ४४ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

मंगलबार हेटौँडा–११ स्थित मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालयमा उपस्थित भई उम्मेदवारी दर्ता गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । मकवानपुरका दुईवटै निर्वाचन क्षेत्रमा राजनीतिक दल र स्वतन्त्र उम्मेदवार गरी उल्लेख्य संख्यामा उम्मेदवारी परेको छ ।

प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ बाट १३ राजनीतिक दलका उम्मेदवार र १० जना स्वतन्त्र उम्मेदवारसहित कुल २३ जनाले उम्मेदवारी दर्ता गराएका छन् । यस क्षेत्रमा नेपाली काँग्रेसबाट महालक्ष्मी उपाध्याय ‘डिना’, नेकपा एमालेबाट रामेश्वर राना, नेपाली कम्युनिष्ट पार्टीबाट विजय गौतम र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट दीपक सिंह उम्मेदवार रहेका छन् ।

यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रकाश गौतम, श्रम संस्कृति पार्टीबाट विद्या श्रेष्ठ, उज्यालो नेपाल पार्टीबाट सुरेन्द्र लामा, प्रगतिशील लोकतान्त्रिक पार्टीबाट तेजप्रसाद उप्रेती, नेपाल मजदुर किसान पार्टीबाट रञ्जना सुवाल, नेकपा माओवादीबाट महेश नेपाली, जनता समाजवादी पार्टीबाट रुपक लामा तथा एकल निर्वाचन चिन्हसहित दीपक सिलवालले उम्मेदवारी दिएका छन् । नेशनल मंगोल अर्गनाइजेशनबाट युवराज स्याङतान पनि प्रतिस्पर्धामा छन् ।

यस निर्वाचन क्षेत्रबाट अमर दंगाल, अमिक परिवार, टिका प्रसाद चौंलागाईं, प्रमिला कुमारी खतिवडा, मठु पुलामी मगर, राकेश कुमार शर्मा, राजकुमार खड्का, राजाराम बोगटी, शिला सुवेदी र ज्ञानसागर लामा स्वतन्त्र उम्मेदवारका रूपमा मैदानमा उत्रिएका छन् ।

त्यस्तै, प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ बाट १६ राजनीतिक दलका उम्मेदवार र ५ जना स्वतन्त्र उम्मेदवार गरी कुल २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । यस क्षेत्रमा नेपाली काँग्रेसबाट जिल्ला पार्टी सभापति बुद्ध लामा, नेकपा एमालेबाट महेश वर्तौला र नेकपाबाट लवशेर विष्ट उम्मेदवार रहेका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीबाट रामबहादुर थोकर, श्रम संस्कृति पार्टीबाट युनिश लामा स्याङतान, राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रशान्त उप्रेती, उज्यालो पार्टी नेपालबाट प्रविण कुमार स्याङतान, राष्ट्रिय जनमोर्चाबाट निरबहादुर सिन्तान, प्रलोपा पार्टीबाट सन्तोष विष्ट, नेशनल मंगोल अर्गनाइजेशनबाट हिरालाल स्याङतान, नेपाल मजदुर किसान पार्टीबाट सरोज तामाङ, नेकपा माओवादीबाट राम घलान वाटर तथा संयुक्त नागरिक पार्टीबाट शुभराज प्रजाले उम्मेदवारी दिएका छन् ।

यसैगरी, आम जनता पार्टीबाट सुर्य राई र जनता समाजवादी पार्टीबाट छविलाल वाइवाले एकल निर्वाचन चिन्ह लिएर उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचन क्षेत्र नम्बर २ बाट अमृत वल, कृष्णाराम श्रेष्ठ, प्रतिक्षा बानियाँ, रमेश आचार्य र सितामाया वल गरी पाँच जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।