मकवानपुर । साँझ पर्नासाथ अँध्यारोले घेर्ने पूर्वी मकवानपुरका देउजर र गढनसिर बस्तीमा मंगलबार फरक दृश्य देखियो। झुपडीभित्र टुकीको मधुरो उज्यालोमा दैनिकी चलाउँदै आएका स्थानीयले पहिलोपटक घरभित्र बल्बको उज्यालो पाए। मोबाइल चार्ज गर्न टाढा जानुपर्ने बाध्यता हट्यो भने बालबालिका उज्यालो कोठामा पढ्न पाउने भएका छन्।

बागमती गाउँपालिका–३ को दक्षिणी भेगमा पर्ने यी दुई बस्तीमा पहिलोपटक विद्युत् सेवा विस्तार गरिएको हो। ट्रान्सफर्मर जडानसँगै बत्ती बलेपछि स्थानीयले लामो समयपछि आधारभूत सेवाको अनुभूति गरेका छन्।

यहाँ मुख्यतः तामाङ समुदायको बसोबास छ। औलोको त्रासका कारण विसं १९९८ तिर समथर भूभाग छोडेर पहाडतर्फ सरेका उनीहरू आठ दशक बितिसक्दा पनि आधारभूत सुविधाबाट वञ्चित थिए। केही समयअघि मात्रै सडक खुलेको यस क्षेत्रमा वर्षायाममा अझै पनि आवतजावत कठिन हुने समस्या छ।

गाउँपालिका कार्यालय झुरझुरेबाट करिब १७ किलोमिटर दक्षिण र रौतहटको चन्द्रनिगाहपुरसँग जोडिएको यस क्षेत्रमा गत वर्ष नै विद्युत् पु¥याउने लक्ष्य रहे पनि खोल्सा, भीर र अप्ठ्यारो भूगोलका कारण काम ढिलाइ भएको थियो। यस वर्ष भने स्थानीयको श्रमदान, गाउँपालिकाको लगानी र नेपाल विद्युत् प्राधिकरणको सहकार्यमा विद्युत् विस्तार सम्भव भएको हो।

देउजरका ६२ र गढनसिरका १७ घरमा लाइन विस्तार गरिएको छ। प्राधिकरणले पोल, तार र ट्रान्सफर्मर उपलब्ध गराएको छ भने आवश्यक संरचना गाउँपालिकाले व्यवस्थापन गरेको छ। दुर्गम भूगोलमा पोल ढुवानी र जडानमा स्थानीय स्वयं सहभागी भएका थिए।

स्थानीय दिलबहादुर पाख्रिनका अनुसार विद्युत् पुगेपछि गाउँमै भविष्य देखिन थालेको छ। उनका शब्दमा, अब गाउँ छोड्नैपर्ने बाध्यता कम भएको छ।

बिकट भूगोल र कम जनसंख्याका कारण यसअघि यी बस्ती विकासको प्राथमिकतामा पर्न सकेका थिएनन्। वडाका अनुसार इतिहास, शीतल हावापानी र जैविक वातावरणले भरिएको बागमती–३ क्षेत्र कृषि र पर्यटन दुवैका लागि सम्भावना बोकेको छ। विद्युत् विस्तारले शिक्षा, स्वास्थ्य र स्थानीय अर्थतन्त्रमा सकारात्मक परिवर्तन ल्याउने अपेक्षा गरिएको छ।