हेटौँडा । फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै निर्वाचनको तयारी तथा निर्वाचन आचारसंहिता कार्यान्वयनका विषयमा हेटौँडामा सरोकारवालाबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
निर्वाचन अधिकृत कार्यालयको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा राजनीतिक दल, उम्मेदवार तथा दलका भातृ संगठनहरूले पालना गर्नुपर्ने निर्वाचन आचारसंहिताका विषयमा विस्तृत छलफल गरिएको थियो । कार्यक्रममा प्रदेश निर्वाचन कार्यालयका प्रतिनिधिले आचारसंहितासम्बन्धी प्राविधिक प्रस्तुतीकरण प्रस्तुत गर्दै त्यसको प्रभावकारी कार्यान्वयनको आवश्यकता औँल्याएका थिए ।
अन्तरक्रियामा सहभागीहरूले निर्वाचन आचारसंहिता कडाइका साथ कार्यान्वयन गर्न निर्वाचन आयोगदेखि प्रशासनसम्मले सक्रिय अनुगमन गर्नुपर्नेमा जोड दिएका थिए । राजनीतिक दलका प्रतिनिधिहरूले पनि आ–आफ्नो दल आचारसंहिता पालनामा प्रतिबद्ध रहेको बताएका छन् ।
कार्यक्रममा प्रशासनतर्फबाट बोल्ने जिम्मेवार अधिकारीले पछिल्लो समय राजनीतिक दलहरू आचारसंहिता पालनामा थप जिम्मेवार बन्दै गएको उल्लेख गरे । हरित नगरीका रूपमा परिचित हेटौँडामा वातावरणमैत्री निर्वाचन आचारसंहिता पूर्ण रूपमा कार्यान्वयन हुने विश्वास व्यक्त गर्दै सरकारी सवारी साधनको दुरुपयोग भए कडा कारबाही गरिने चेतावनी दिइयो । निर्वाचन अवधिमा सम्भावित तथा आकस्मिक घटनालाई ध्यानमा राख्दै प्रशासनले नियमित छलफल गरिरहेको जानकारी पनि दिइयो ।
त्यसैगरी, निर्वाचन अधिकृतले आचारसंहिता उम्मेदवारको नैतिकता, आचरण र व्यवहारसँग प्रत्यक्ष रूपमा जोडिएको विषय भएको स्पष्ट पार्दै वातावरणमैत्री ढंगले प्रचारप्रसार गर्न आग्रह गर्नुभयो । जात, धर्म, समुदाय वा पहिचानका आधारमा द्वेष फैलाउने गतिविधि नगर्न तथा भ्रामक र मिथ्या प्रचार रोक्न सबै पक्षको भूमिका महत्वपूर्ण हुनेमा जोड दिइयो । विषम परिस्थितिमा हुन गइरहेको यस निर्वाचनमा अघिल्ला निर्वाचनको तुलनामा आचारसंहिता अझ व्यवस्थित रूपमा पालन हुने विश्वाससमेत व्यक्त गरियो ।
मकवानपुरमा दुई निर्वाचन क्षेत्र रहेका छन् । निर्वाचन क्षेत्र नम्बर १ मा १३ राजनीतिक दल र १० जना स्वतन्त्रसहित २३ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् भने निर्वाचन क्षेत्र नम्बर २ मा १६ राजनीतिक दल र ५ जना स्वतन्त्र गरी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।












