मकवानपुर । बाल हेल्पलाइन मकवानपुरले चितवनको इच्छाकामना गाउँपालिका क्षेत्रमा सञ्चालनमा रहेका दुई होटलबाट ६ जना बालबालिकाको उद्धार गरेको छ।
नारायणगढ–मुग्लिन सडकखण्डमा रहेका होटलहरूमा बालबालिका संलग्न शंकास्पद गतिविधि भइरहेको भन्ने सूचनाका आधारमा अनुगमन गर्दा ती बालबालिका फेला परेका हुन्। बाल हेल्पलाइन मकवानपुरका प्रमुख झविन्द्र ज्ञवालीका अनुसार बालबालिकाको सुरक्षा र संरक्षणलाई मध्यनजर गर्दै माघ १७ गते आइतबार उद्धार अभियान सञ्चालन गरिएको थियो।
श्रम रोजगार कार्यालय हेटौँडा, स्थानीय प्रहरी तथा समाजसेवीहरूको संयुक्त टोलीले सो क्षेत्रमा रहेका करिब ३०० होटलको अनुगमन गरेको थियो। अनुगमनका क्रममा दुई होटलमा काम गरिरहेका ६ जना बालबालिका फेला परेपछि तत्काल उद्धार गरिएको हो।
उद्धार गरिएका बालबालिकामध्ये २ जना बालिका र ४ जना बालक रहेका छन्। उनीहरूको उमेर ९ देखि १६ वर्ष समूहभित्र रहेको बताइएको छ। ती बालबालिकालाई उद्धारपछि सुरक्षित रूपमा हेटौँडा ल्याई हाल बाल हेल्पलाइनको संरक्षणमा राखिएको प्रवक्ता ज्ञवालीले जानकारी दिए।
घटनासँग सम्बन्धित होटल सञ्चालक तथा अन्य व्यक्तिहरूको भूमिकाबारे स्थानीय प्रहरीले थप अनुसन्धान अघि बढाएको छ। प्रारम्भिक अनुसन्धानबाट बालअधिकार उल्लङ्घन भएको पुष्टि भए कानुनी कारबाही प्रक्रिया अघि बढाइने प्रहरीको भनाइ छ।
बाल हेल्पलाइन मकवानपुरले बालश्रम, दुर्व्यवहार तथा जोखिमपूर्ण अवस्थाबाट बालबालिकालाई जोगाउन नियमित अनुगमन र उद्धार कार्य गर्दै आएको जनाएको छ। यस्ता गतिविधि देखिए वा जानकारी भएमा तुरुन्त सम्बन्धित निकायमा खबर गर्न सर्वसाधारणलाई आग्रह गरिएको छ।












