हेटौडा /मकवानपुर जिल्ला क्षेत्र नम्बर–१ बाट नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार बिजय गौतमलाई विजयी गराउने उद्देश्यसहित हेटौडा उपमहानगरपालिकाका वडा नम्बर ६, ८ र ९ मा एकैदिन अगुवा कार्यकर्ता भेला तथा निर्वाचन प्रचार–प्रसार कार्यालय उद्घाटन कार्यक्रम सम्पन्न भएको छ।

तीनवटै वडामा आयोजित कार्यक्रमसँगै आजै विभिन्न वडाहरूमा घरदैलो अभियान पनि सञ्चालन गरिएको थियो। साथै, स्थानीय सामाजिक अगुवाहरू र प्रभावशाली व्यक्तित्वहरूसँग भेटघाट गर्दै चुनावी रणनीति र अभियानलाई थप प्रभावकारी बनाउने विषयमा छलफल गरिएको मकवानपुर जिल्ला क्षेत्र नम्बर–१ बाट नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार बिजय गौतम ले जानकारी दिनुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै उम्मेदवार गौतमले देशको वर्तमान अवस्थाले अब निर्णायक राजनीतिक हस्तक्षेप मागिरहेको बताउँदै, “यो चुनाव कुनै व्यक्तिको लागि होइन, यो सुशासन, सामाजिक न्याय र राष्ट्रिय स्वाधीनताको पक्षमा उभिने कि नउभिने भन्ने निर्णय हो,” उनले भने। उनले हेटौडासहित मकवानपुरका विकासका अधुरा कामहरू, रोजगारीको समस्या र युवापुस्ताको भविष्यलाई केन्द्रमा राखेर काम गर्ने प्रतिबद्धता पनि व्यक्त गरे।

उनले थपे, “जनताले पटक–पटक आश्वासन मात्रै सुन्नुपरेको छ। अब परिणाम देखिने कामको समय आएको छ। म जनतासँगै रहेर, जनताकै समस्या बोकेर संसद्‌मा आवाज उठाउन चाहन्छु।”

कार्यक्रममा नेपाली कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य तथा बागमती प्रदेश सभा सदस्य प्रेमबहादुर पुलामी ‘छिन्तु’, केन्द्रीय सदस्यहरू प्रल्हाद लामिछाने, बालकृष्ण चौलागाईं, केदारनाथ दुलाल, धनप्रसाद गौतम, ध्रुव भुजेल, बागमती प्रदेश कमिटी सदस्य विवेक राई, माधव तिमल्सिना, तीर्थ थापा मगर, अखिल क्रान्तिकारी मकवानपुरका अध्यक्ष बुद्धराज अर्याललगायतले सम्बोधन गरेका थिए।

वक्ताहरूले वर्तमान व्यवस्था स्थापनामा निर्णायक भूमिका खेलेको नेकपा आज त्यसको रक्षा र सुधारको अग्रपंक्तिमा रहेको उल्लेख गर्दै, मुलुकलाई सुशासन, विकास र सामाजिक न्यायको बाटोमा अघि बढाउन विजय गौतमको जित आवश्यक रहेको बताए।

कार्यक्रमको अध्यक्षता नारायणलाल श्रेष्ठले गरेका थिए भने स्वागत मन्तव्य बैकुण्ठप्रसाद सापकोटाले राखेका थिए । त्यस्तै ९ नम्बर वडामा वडा संयोजक सुर्य बहादुर स्याङ्तानको अध्यक्षतामा कार्यक्रम भएको थियो ।

तीन वडामा एकैदिन सम्पन्न कार्यक्रम, घरदैलो अभियान र सामाजिक अगुवाहरूसँगको भेटघाटले हेटौडामा नेकपाको चुनावी अभियान थप गतिशील बन्दै गएको संकेत दिएको छ।