हेटौंडा । मकवानपुरको निर्वाचन क्षेत्र नम्बर २ मा भूमिहीन नागरिकहरूको समस्या समाधानका विषयमा छलफल कार्यक्रम सम्पन्न भएको छ। हेटौंडा उपमहानगरपालिका–११, सिमल्टारमा राष्ट्रिय भूमि अधिकार मञ्च, मकवानपुरद्वारा आयोजित कार्यक्रममा नेकपा (एमाले) का उम्मेदवार महेश बर्तौलाको सहभागिता रहेको थियो।

कार्यक्रममा बोल्दै उम्मेदवार बर्तौलाले जिल्लाका भूमिहीन नागरिकहरूको समस्या समाधानका लागि आफूले विगतदेखि नै पहल गर्दै आएको र आगामी दिनमा पनि यस विषयलाई प्राथमिकतामा राख्ने बताए। उनले मुलुकभर रहेका करिब १२ लाख भूमिहीन नागरिकको समस्या समाधानका लागि संसदमा निरन्तर आवाज उठाउँदै आएको उल्लेख गर्दै भूमि आयोगमार्फत काम अगाडि बढिरहेको जानकारी दिए। नीतिगत समस्या देखिए संसदमार्फत समाधान खोजिने उनको भनाइ थियो।

भूमि समस्या समाधान आयोग, मकवानपुरका जिल्ला अध्यक्ष बलराम बलले सिमल्टार तथा आसपासका बस्तीहरू निकुञ्जको बफर जोनका कारण प्रभावित भएको बताए। उनले ती क्षेत्रका बासिन्दालाई धनीपुर्जा वितरणका लागि अध्यादेशमार्फत प्रक्रिया अघि बढाइएको भए पनि विभिन्न कारणले कार्यान्वयनमा जटिलता आएको उल्लेख गरे।

वडा कार्यालयमार्फत ५५० भन्दा बढी भूमिहीन नागरिकका निवेदन नगरपालिकामा पठाइएको र आवश्यक प्रक्रिया पूरा भएपछि आयोगमार्फत लालपुर्जा वितरण गरिने जानकारी पनि कार्यक्रममा दिइयो।

मनहरी, भीमफेदी र हेटौंडाका सिमल्टार लगायतका क्षेत्रमा रहेका भूमिहीनहरूको समस्या समाधानका लागि सम्बन्धित निकायहरूले प्रभावकारी रूपमा काम गर्नुपर्नेमा कार्यक्रममा जोड दिइएको थियो।

यसैबीच, नेकपा (एमाले) ले निर्वाचन क्षेत्रका विभिन्न स्थानमा चुनावी गतिविधि पनि सञ्चालन गरिरहेको छ। हेटौंडा–११ को नवलपुर र वडा नम्बर ३ को बसामाडीमा निर्वाचन सम्पर्क कार्यालय स्थापना गरिएको जनाइएको छ।