मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१९ बस्तिपुरस्थित पूर्व–पश्चिम सडकखण्डमा आज बिहान भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार बिहान करिब ०५:०५ बजे हेटौंडा बजारबाट मनहरीतर्फ जाँदै गरेको ना ४३ प २२१ नम्बरको मोटरसाइकललाई नेवारपानीतर्फबाट हेटौंडातर्फ आउँदै गरेको नम्बर नखुलेको ट्रकले ठक्कर दिएको थियो। दुर्घटनाको खबर ०५:१५ बजे प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय नेवारपानीबाट टोली खटिएको थियो।
दुर्घटनामा मोटरसाइकल चालक राक्सिराङ गाउँपालिका–१ बस्ने अन्दाजी २२ वर्षीय संजित स्याङतान र मोटरसाइकलको पछाडि सवार सोही स्थानका अन्दाजी १८ वर्षीय अमोश थिङ गम्भीर घाइते भएका थिए। दुवै जनालाई उपचारका लागि चुरेहिल अस्पताल हेटौंडा पठाइएकोमा उपचारकै क्रममा बिहान ०५:५२ बजे चिकित्सकले मृत घोषणा गरेका हुन्।
दुर्घटनास्थल इलाका प्रहरी कार्यालय नेवारपानीबाट करिब ५ किलोमिटर पूर्वमा पर्छ।
प्रहरीले ठक्कर दिने ट्रकको खोजतलास गर्ने क्रममा ग २ ख ८९८ नम्बरको ट्रकलाई पर्साको वीरगञ्ज महानगरपालिका–१३ पर्तिमाचोकस्थित एक ग्यारेजबाट नियन्त्रणमा लिएको जनाएको छ। ट्रक चालक बारा जिल्ला जितपुरसिमरा उपमहानगरपालिका–३ बस्ने अन्दाजी ३६ वर्षीय अनिल साहको खोजतलास तथा अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ।
घटनाबारे थप अनुसन्धान जारी रहेको छ।










