हेटौडा । हेटौडा उपमहानगरपालिका–१० बुद्ध चोकस्थित विभिन्न कपडा पसलबाट ‘बालेन’को फोटो सहित ‘ह्याप्पी होली’ लेखिएको भेष्ट (टिसर्ट) बिक्री भइरहेको सूचनाका आधारमा संयुक्त गस्ती टोलीले करिब ४०० थान टिसर्ट नियन्त्रणमा लिएको छ।
आज अन्दाजी ११:३० बजेको समयमा जिल्ला प्रशासन कार्यालय मकवानपुरबाट खटिएका सहायक प्रमुख जिल्ला अधिकारी मोहनराज जोशी, जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब निरीक्षक आशा लामाको कमाण्डमा १४ जना तथा यस गणबाट खटिएको मोबाइल–६ का कमाण्डर सप्रसनि कुवेर तारामी मगरको १२ जनाको संयुक्त टोलीले उक्त कारबाही गरेको हो।
कारबाहीका क्रममा हेटौडा–११ का जय प्रसाद दास र राजु दास, हेटौडा–१० का जिगट दास र बेकेश दास, हेटौडा–११ का विजय दास तथा हेटौडा–४ का अमित साह र मुक्तार दासलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रशासन कार्यालय मकवानपुरमा उपस्थित गराइएको प्रहरीले जनाएको छ।
प्रशासनका अनुसार बरामद गरिएका टिसर्ट र संलग्न व्यक्तिहरूमाथि प्रचलित कानुनअनुसार थप अनुसन्धान भइरहेको छ। यस विषयमा आवश्यक प्रक्रिया पूरा गरी कानुनी कारबाही अघि बढाइने जनाइएको छ।










