हेटौँडा । प्रतिनिधिसभा सदस्यका लागि आज देशभर मतदान भइरहेको छ। मकवानपुरमा पनि कडा सुरक्षा व्यवस्थाबीच तीन लाखभन्दा बढी मतदाताले मतदान गर्दै छन्।
बागमती प्रदेश निर्वाचन कार्यालय हेटौंडाका अनुसार जिल्लामा कुल ३ लाख १५ हजार ३३४ मतदाता रहेका छन्। मतदातालाई सुरक्षित र व्यवस्थित रूपमा मतदान गर्न चार वटै सुरक्षा निकायका करिब चार हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ।
मकवानपुर क्षेत्र नम्बर १ मा पुरुष ७९ हजार ६२१, महिला ७८ हजार ८१० र अन्य चार जना गरी कुल १ लाख ५८ हजार ४३५ मतदाता रहेका छन्। त्यसैगरी क्षेत्र नम्बर २ मा ८२ हजार ३३२ पुरुष, ७४ हजार ५६६ महिला र एक अन्य गरी १ लाख ५६ हजार ८९९ मतदाता रहेको निर्वाचन कार्यालयले जनाएको छ।
जिल्लाको क्षेत्र नम्बर १ अन्तर्गत ४० वटा वडामा ६२ मतदानस्थल र १७८ मतदान केन्द्र तोकिएका छन्। त्यस्तै क्षेत्र नम्बर २ अन्तर्गत ६२ वडामा १०५ मतदानस्थल र १९६ मतदान केन्द्र निर्धारण गरिएको प्रदेश निर्वाचन कार्यालय हेटौंडाका प्रमुख हरि प्रसाद ढकालले जानकारी दिए।
यी केन्द्रबाहेक भीमफेदीस्थित कारागारमा कैदीबन्दीका लागि तथा हेटौँडामा कर्मचारीका लागि अस्थायी मतदान केन्द्रसमेत व्यवस्था गरिएको छ। निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गराउन सुरक्षा निकाय र निर्वाचन कार्यालयले आवश्यक तयारी पूरा गरेको जनाइएको छ।












