हेटौँडा । मकवानपुरका दुवै प्रतिनिधिसभा निर्वाचन क्षेत्रको मतगणना सुरु भएको छ। आइतबार सम्पन्न मतदानपछि मतदान केन्द्रहरूबाट मतपेटिका संकलन गरी मतगणनास्थलमा ल्याइए पनि आवश्यक तयारीका कारण आज केही ढिलो गरी गणना प्रक्रिया सुरु गरिएको हो।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार जिल्लाका सबै मतदान केन्द्रबाट मतपेटिका सुरक्षित रूपमा मतगणनास्थलमा ल्याइसकिएको थियो। त्यसपछि सर्वदलीय बैठक, व्यवस्थापन र प्राविधिक तयारी पूरा गरी आज दिउँसोबाट मतगणना सुरु गरिएको जनाइएको छ।

मतगणना प्रक्रिया पारदर्शी र व्यवस्थित बनाउन तारजालीसहितको गणना कक्ष, सीसीटिभी निगरानी तथा सुरक्षाकर्मीको कडा व्यवस्था मिलाइएको निर्वाचन कार्यालयले जनाएको छ। प्रत्येक वडाको मतपेटिका छुट्टाछुट्टै खोली गणना गर्ने व्यवस्था गरिएको छ।

जिल्लाका दुवै प्रतिनिधिसभा निर्वाचन क्षेत्रको मतगणना एकैसाथ सुरु गरिएको र क्रमशः परिणाम सार्वजनिक गरिने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

मतगणनास्थलमा उम्मेदवारका प्रतिनिधि, विभिन्न राजनीतिक दलका प्रतिनिधि, सुरक्षाकर्मी तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको छ। निर्वाचन कार्यालयका अनुसार मतगणनाको प्रारम्भिक परिणाम केही समयपछि सार्वजनिक हुन सुरु हुने अपेक्षा गरिएको छ।

जिल्लामा शान्तिपूर्ण रूपमा सम्पन्न मतदानपछि अहिले सबैको ध्यान मतगणनाको नतिजातर्फ केन्द्रित भएको छ।