मकवानपुर — मकवानपुरको मनहरी गाउँपालिका–१ चकरी मकरी क्षेत्रमा लागुऔषध सेवन तथा झैझगडा भइरहेको सूचना पाएपछि पुगेको प्रहरी टोलीमाथि आक्रमण भएको छ। आक्रमणपछि प्रहरीले आत्मरक्षाका लागि गोली चलाउँदा एक जना घाइते भएका छन्।
प्रहरी चौकी पदमपोखरी मकवानपुरबाट प्रहरी सहायक निरीक्षक (प्र.स.नि.) दिलबहादुर तामाङको कमाण्डमा गएको टोलीले घटनास्थलमा पुगेपछि संलग्न व्यक्तिहरूसँग सोधपुछ गर्ने क्रममा उनीहरूमध्ये केहीले अचानक बियरको बोतल, खुकुरी र बन्चरो प्रहार गरेका थिए। उक्त आक्रमणबाट प्र.स.नि. तामाङका दुबै हातमा चोट लागी उनी मध्यम घाइते भएका छन्।
प्रहरीमाथि आक्रमण भएपछि आत्मरक्षाका लागि प्र.स.नि. तामाङले आफ्नो साथमा रहेको पेस्तोलबाट एक राउण्ड फायर गरेका थिए। उक्त गोली लाग्दा हेटौंडा उपमहानगरपालिका–१२ हात्तिगौडा बस्ने करिब १९ वर्षीय सनिस तितुङको पेटको दाहिने भागमा गोली लागेको प्रहरीले जनाएको छ।
घाइते प्रहरी तथा गोली लागेका युवकलाई उपचारका लागि मकवानपुरस्थित CMC चुरेहिल अस्पतालमा लगिएको छ।
घटनापछि जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीको कमाण्डमा थप प्रहरी टोली खटिएको थियो। सो टोलीले घटनामा संलग्न हेटौंडा उपमहानगरपालिका–१२ रमनटार बस्ने २४ वर्षीय सन्जय जिम्बा र सोही स्थानका ३५ वर्षीय अजय थिङलाई नियन्त्रणमा लिएको छ।
पक्राउ परेका दुवै जनालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय मकवानपुर ल्याइएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार पक्राउ परेका दुई जना र गोली लागी घाइते भएका व्यक्ति विगतमा लागुऔषध, ज्यान मार्ने उद्योग तथा चोरी सम्बन्धी विभिन्न आपराधिक गतिविधिमा संलग्न रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।













