हेटौँडा । मकवानपुरमा खाना पकाउने ग्यासको वितरणलाई व्यवस्थित, पारदर्शी र उपभोक्तामैत्री बनाउन सरोकारवालाहरूबीच व्यापक छलफल गरिएको छ। जिल्ला प्रशासन कार्यालय मकवानपुरको सभाहलमा प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीको अध्यक्षतामा बसेको बैठकले ग्यास आपूर्ति, अनुगमन र वितरण प्रणाली सुधारका विषयमा केन्द्रित निर्णयहरू गरेको हो।

बैठकमा प्रमुख जिल्ला अधिकारी अधिकारीले आपतकालीन अवस्थालाई मध्यनजर गर्दै व्यवसायीहरूलाई मानवता, नैतिकता र इमान्दारितालाई प्राथमिकतामा राख्न आग्रह गर्नुभयो। उपभोक्तासम्म सहज रूपमा ग्यास पुर्‍याउने दायित्व पूरा गर्न निर्देशन दिँदै उहाँले ग्यास उत्पादक कम्पनी र डिलरहरूलाई दैनिक वितरण विवरण प्रशासनमा अनिवार्य रूपमा बुझाउन निर्देशन दिनुभयो।

ग्यास वितरणलाई पारदर्शी बनाउन उत्पादक कम्पनीदेखि सब–डिलरसम्मको सम्पूर्ण आपूर्ति विवरण दैनिक रूपमा प्रशासनलाई जानकारी गराउनुपर्ने व्यवस्था गर्न लागिएको जनाइएको छ। कृत्रिम अभाव सिर्जना गर्ने, ग्यास लुकाउने वा कालोबजारी गर्ने गतिविधि भेटिएमा कडा कारबाही गरिने चेतावनी पनि प्रशासनले दिएको छ।

हालै ग्यास अभावसम्बन्धी गुनासो बढेपछि प्रशासनले नापतौल तथा उद्योग वाणिज्य कार्यालयसँग समन्वय गरी संयुक्त अनुगमनसमेत गरेको थियो। अनुगमनका क्रममा केही स्थानमा ग्यास स्टक गरेर राखिएको र दर्ता नभएका सब–डिलरमार्फत वितरण भइरहेको तथ्य फेला परेको प्रमुख प्रशासकीय अधिकृत गुणप्रसाद न्योपानेले जानकारी दिनुभयो। यद्यपि, माग बढे पनि जिल्लामा ग्यासको चरम अभाव भने नरहेको उहाँको भनाइ छ।

सहारा ग्यासका प्रबन्धक खड्गबहादुर थापाका अनुसार मकवानपुरमा मासिक करिब २८ हजार सिलिन्डर ग्यासको माग हुने गरेकोमा फागुन महिनामा मात्रै ३२ हजार सिलिन्डर पुगेको छ। बढ्दो मागलाई सम्बोधन गर्न उत्पादन र आपूर्ति दुवै बढाइएको उहाँले बताउनुभयो।

ग्यास व्यवसायी संघ मकवानपुरका निवर्तमान अध्यक्ष दिलिस गोविन्द जोशीले सेवा पहुँच विस्तार गर्न डिलरमार्फत सब–डिलर प्रणाली अपनाइएको स्पष्ट पार्नुभयो। उपभोक्ता हित संरक्षण मञ्चका केन्द्रीय उपाध्यक्ष बासु खतिवडाले भने केही क्षेत्रमा बढी र केहीमा कम ग्यास पुगेको गुनासो आएको उल्लेख गर्दै बिल काटेर पारदर्शी रूपमा बिक्री गर्न व्यवसायीहरूलाई आग्रह गर्नुभयो।

बैठकले संकटका बेला वैकल्पिक ऊर्जाको प्रयोग बढाउनेतर्फ पनि ध्यान दिनुपर्ने निष्कर्ष निकालेको छ। विशेषगरी विद्युत् प्रयोगलाई प्रोत्साहन गर्ने सुझाव दिइएको छ।

जिल्लामा हाल २२ वटा ग्यास डिलर र करिब ४ सय सब–डिलर सक्रिय रहेका छन्। ग्यास वितरणमा ज्येष्ठ नागरिक, अशक्त व्यक्ति र विद्यार्थीलाई प्राथमिकता दिन तथा सबै उपभोक्तालाई समान रूपमा सेवा पुर्‍याउन स्पष्ट अभिलेख राख्ने व्यवस्था गर्न सरोकारवालालाई निर्देशन दिइएको छ।

उक्त बैठकमा आन्तरिक राजस्व कार्यालय, ग्यास उत्पादक कम्पनी, ग्यास डिलर एसोसिएसन, उपभोक्ता हित संरक्षण मञ्च, नेपाल पत्रकार महासंघ र मकवानपुर उद्योग वाणिज्य संघ लगायत विभिन्न निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।