हेटौंडा — मकवानपुर उद्योग वाणिज्य संघको ५९औँ वार्षिक साधारण सभा चैत २१ गते शनिबार आयोजना हुने भएको छ। संघको फागुन १५ गते बसेको कार्यसमिति बैठकले हेटौंडास्थित पल्पसा हलमा साधारण सभा गर्ने निर्णय गरेको हो।
संघका अध्यक्ष प्रमोद सिंह रानाभाटका अनुसार साधारण सभाको उद्घाटन बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको प्रमुख आतिथ्यतामा हुने तय गरिएको छ। त्यस्तै, कार्यक्रमका विशिष्ट अतिथिका रूपमा संघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ रहनेछन्।
साधारण सभामा संघको विधान संशोधन सम्बन्धी प्रस्ताव प्रस्तुत गरिने महासचिव प्रतिमा श्रेष्ठले जानकारी दिइन्।
यसैबीच, मकवानपुर उद्योग वाणिज्य संघ अन्तर्गतको कृषि प्रवर्द्धन समितिको आयोजनामा बागमती प्रदेशस्तरीय कृषि प्रदर्शनी–२०८२ आयोजना गरिने भएको छ। समितिका संयोजक निलम पाण्डेका अनुसार उक्त प्रदर्शनी चैत १३ गतेदेखि १६ गतेसम्म पल्पसा हलमै सञ्चालन हुनेछ।
प्रदर्शनीमा प्रदेशभरका किसानले उत्पादन गरेका कृषि उपज, रैथाने बाली, कृषि औजार, उपकरण तथा आधुनिक प्रविधिहरू प्रदर्शन गरिने आयोजकले जनाएको छ।













