हेटौँडा । केन्द्रमा नेपाली कांग्रेस र नेकपा एमालेबीचको सत्ता साझेदारी अन्त्य भएसँगै त्यसको प्रभाव बागमती प्रदेश सरकारमा पनि परेको छ। राजनीतिक समीकरणमा आएको परिवर्तनपछि नेकपा एमालेका मन्त्रीहरूले सामूहिक रूपमा राजीनामा दिने निर्णय गरेका छन्।

एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले पार्टीको केन्द्रीय निर्णयलाई आधार मान्दै सरकारबाट बाहिरिने निर्देशन दिएका हुन्। केन्द्रमा भएको पछिल्लो राजनीतिक विकासक्रमसँगै प्रदेशमा पनि सत्ता समीकरण फेरिने निश्चित भएकाले सरकारमा बसिरहनुको औचित्य नभएको निष्कर्ष निकाल्दै मन्त्रीहरूलाई पदबाट राजीनामा दिन भनिएको हो। यसअघि बिहीबार मन्त्रिपरिषद् बैठकपछि नै राजीनामा बुझाउने तयारी भए पनि पार्टीको औपचारिक केन्द्रीय निर्देशन नआउँदा उक्त प्रक्रिया रोकिएको थियो। नयाँ सत्ता समीकरण निर्माणका लागि मार्ग प्रशस्त गर्ने उद्देश्यले एमालेले यस्तो कदम चालेको बुझिएको छ।

बागमती प्रदेश सरकारमा एमालेका तर्फबाट स्वास्थ्यमन्त्री किरण थापा मगर, कृषि तथा पशुपन्छी विकासमन्त्री मधुसूदन पौडेल, भौतिक पूर्वाधार विकासमन्त्री डा. दिनेशचन्द्र देवकोटा, श्रम, रोजगार तथा यातायातमन्त्री जयराम थापा, वन तथा वातावरणमन्त्री भरतबहादुर केसी तथा उद्योग, वाणिज्य, भूमि तथा प्रशासनमन्त्री बिन्दु श्रेष्ठ सहभागी छन्। मन्त्रालय संख्या १४ बाट ८ मा झारिएपछि उनीहरूमध्ये केही मन्त्रीहरूले विनाविभागीय रूपमा काम गरिरहेका थिए।

एमालेले सरकारबाट आफ्ना मन्त्रीहरू फिर्ता बोलाएपछि मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ नेतृत्वको सरकार अल्पमतमा पर्ने वा नयाँ समीकरणअनुसार मन्त्रिपरिषद् पुनर्गठन हुने भन्ने विषयमा यतिबेला राजनीतिक चर्चा सुरु भएको छ। केन्द्रमा कांग्रेस–एमाले गठबन्धन समाप्त भएपछि अब प्रदेशमा कस्तो किसिमको सरकार बन्छ भन्ने कुरा आगामी दिनमा हुने दलीय छलफलले नै तय गर्नेछ।