हेटौँडा । नेपाली कांग्रेस मकवानपुरले प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधि सभामा व्यक्त गरेको एक अभिव्यक्तिलाई लिएर गम्भीर आपत्ति जनाउँदै जिल्ला प्रशासन कार्यालय मकवानपुर मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ। नेपाली कांग्रेस मकवानपुरका सभापति बुद्ध लामाको नेतृत्वमा गएको टोलीले आज मकवानपुरका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीलाई सो ज्ञापन पत्र हस्तान्तरण गरेको हो।

​प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, काठमाडौँलाई सम्बोधन गरिएको उक्त ज्ञापन पत्रमा नेपाली जनताको ऐतिहासिक जनआन्दोलन र बलिदानबाट सामन्ती प्रथाको अन्त्य भई आजको नेपाली समाज निर्माण भएको स्मरण गराइएको छ। सरकार जनविरोधी क्रियाकलापमा सक्रिय हुँदा जनताको विद्रोहले शासकहरूको अन्त्य गरेको इतिहास साक्षी रहेको उल्लेख गर्दै वर्तमान समयमा त्यस्तो परिस्थिति दोहोरिने अपेक्षा नगरिएको पत्रमा जनाइएको छ।

​सीमा विवाद र प्रधानमन्त्रीको अभिव्यक्तिमा आपत्ति

​ज्ञापन पत्रमा विशेष गरी संसदमा प्रतिनिधि सभा सदस्यहरूले सोधेका प्रश्नहरूको उत्तर दिने क्रममा सम्माननीय प्रधानमन्त्रीले “नेपालले पनि भारतीय भूमि मिचेको छ” भनी दिएको अभिव्यक्तिप्रति तीव्र आक्रोश व्यक्त गरिएको छ। उक्त अभिव्यक्तिले समग्र नेपालीहरूको शिर निहुरिएको कांग्रेस मकवानपुरको ठहर छ।

​ज्ञापन पत्रमा भनिएको छ:

​”नेपालले मिचेका भारतीय सीमाहरू कहाँ कहाँ छन् र भारतले मिचेका नेपाली भूमि कहाँ कहाँ छन्, यस सम्बन्धमा राज्यस्तरबाट सर्वोच्च निकाय संसद र जनतासमक्ष स्पष्ट पार्नु पर्दछ।”

 

​संसदको रेकर्डबाट हटाउन र माफी माग्न माग

​विपक्षी राजनीतिक दलका सांसदहरूले विगत २ महिनादेखि यस विषयमा निरन्तर विरोध गरिरहेको उल्लेख गर्दै कांग्रेस मकवानपुरले यस्तो राष्ट्रिय हित विपरीतको अभिव्यक्तिको विरोध संसदमा मात्र सीमित नराखी सडक र जनताको तहसम्म पुर्‍याउनुपर्ने धारणा राखेको छ।

​यदि प्रधानमन्त्रीले यस विषयमा जनतासमक्ष स्पष्ट पार्न र माफी माग्न नसक्ने हो भने आम नेपाली जनताको तर्फबाट उक्त अभिव्यक्ति तत्काल संसदको रेकर्डबाट हटाउन माग समेत गरिएको छ।

​ज्ञापन पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले उक्त पत्रलाई तत्काल सम्बन्धित निकाय (प्रधानमन्त्री कार्यालय) मा पठाइदिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।