हेटौँडा । निर्माण व्यवसायी सङ्घ मकवानपुरले नारायणी यातायात व्यवसायी सङ्घ, हेटौँडाका नवनिर्वाचित पदाधिकारी एवं कार्यसमिति सदस्यहरूलाई एक कार्यक्रमबीच स्वागत तथा सम्मान गरेको छ।
शनिबार हेटौँडामा आयोजित एक कार्यक्रमका बीच निर्माण व्यवसायी सङ्घले नारायणी यातायात व्यवसायी सङ्घको १६औँ अधिवेशनबाट निर्वाचित नया कार्यसमितिलाई सम्मान गरेको हो। उक्त कार्यक्रममा मकवानपुरका व्यावसायिक संस्थाहरूबीचको सहकार्यमा विशेष जोड दिइएको थियो।
कार्यक्रममा बोल्दै निर्माण व्यवसायी सङ्घका अध्यक्ष बालगोपाल कँडेलले यातायात व्यवसायी सङ्घको नवनिर्वाचित नेतृत्वले सङ्घमा आबद्ध सदस्यहरूको हकहित प्रवर्द्धनमा नयाँ कार्यक्रम र सोचका साथ काम गर्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले मकवानपुरका व्यावसायिक संस्थाले सहकार्यमार्फत सामाजिक उत्तरदायित्वका कार्यहरू गर्दै आएको उल्लेख गर्दै यस्ता संस्थागत सहकार्यले अपनत्व र भाइचाराको विकास हुनेबारे चर्चा गर्नुभयो।
नारायणी यातायात व्यवसायी सङ्घका नवनिर्वाचित अध्यक्ष सरोजकुमार खनालले वर्तमान समयमा सबै क्षेत्रको व्यवसाय सङ्क्रमणकालीन अवस्थामा रहेकोले व्यवसायीहरूबीच एकता हुनुपर्नेमा जोड दिनुभयो। उहाँले विगतमा यातायात क्षेत्रमाथि विभिन्न बहानामा आक्रमण हुने गरेका कुरालाई औँल्याउँदै उद्योग तथा व्यवसाय क्षेत्रको विकासबाट मात्रै वास्तविक आर्थिक समृद्धि हासिल गर्न सकिने धारणा राख्नुभयो।
त्यस्तै, कार्यक्रममा निर्माण व्यवसायी सङ्घका वरिष्ठ उपाध्यक्ष सागर कटुवालले दुई व्यावसायिक सङ्घबीचको समन्वय र सहकार्यलाई थप सुदृढ बनाउनु अहिलेको मुख्य आवश्यकता रहेको बताउनुभयो।












