हेटौँडा । जिल्ला प्रशासन कार्यालय मकवानपुरले अनुमति प्राप्त नगरी र नियमानुसार नवीकरण नगरी शैक्षिक परामर्श सेवा, पूर्वतयारी कक्षा तथा भाषा शिक्षण कक्षा सञ्चालन नगर्न कडा निर्देशन दिएको छ।

प्रशासनले आफ्नो आधिकारिक सामाजिक सञ्जाल (फेसबुक पेज) मार्फत एक सार्वजनिक सूचना जारी गर्दै यस्तो चेतावनी दिएको हो। बागमती प्रदेशको स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालयबाट प्राप्त तथ्याङ्कलाई उद्धृत गर्दै प्रशासनले जिल्लामा दर्ता भएका झन्डै आधा जसो यस्ता संस्थाहरूले नवीकरण नगरेको जनाएको छ।

मन्त्रालयको विवरणअनुसार मकवानपुर जिल्लाभित्र शैक्षिक परामर्श सेवा (कन्सल्टेन्सी), पूर्वतयारी कक्षा र भाषा शिक्षण कक्षा सञ्चालनका लागि अनुमति प्राप्त संस्थाहरूको कुल सङ्ख्या ६४ रहेको छ। तर, तीमध्ये ३४ वटा संस्थाले मात्र चालु आर्थिक वर्ष २०८२/०८३ का लागि आफ्नो अनुमति नवीकरण गराएका छन्। बाँकी रहेका ३० वटा संस्थाहरूले नवीकरण प्रक्रिया पूरा नगरेको पाइएपछि प्रशासनले यसमा कडाइ गरेको हो।

जिल्ला प्रशासन कार्यालयले कानुनको परिपालना गर्न ध्यानाकर्षण गराउँदै भनेको छ, “संस्था सञ्चालनको अनुमति प्राप्त गर्ने र नियमानुसार नवीकरण गर्ने कार्य नगरी कुनै पनि संस्था, फर्म वा व्यवसाय आदि सञ्चालन नगर्न र नगराउनु हुन सम्बन्धित सबैमा अनुरोध गरिन्छ।”

प्रशासनको यस कदमले जिल्लामा अवैधानिक रूपमा चलिरहेका शैक्षिक परामर्शदातृ संस्थाहरूलाई कानुनी दायरामा ल्याउन मद्दत पुग्ने अपेक्षा गरिएको छ। तोकिएको मापदण्ड र नवीकरण प्रक्रिया पूरा नगर्ने संस्थाहरूमाथि अनुगमन गरी थप कारबाही गरिने सङ्केत प्रशासनले दिएको छ।